Khabar Out
देशैभरिको विपद्बारे सांसदहरूको चिन्ता : हावाहुरी, बाढी र पहिरो पीडितलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा पछिल्लो समयमा देशका विभिन्न जिल्लामा आएको भीषण पानी, हावाहुरी र पहिरोका कारण नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ। 

सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले विपद् व्यवस्थापन र पीडितलाई राहत दिन माग गरेका हुन्।

बैठकमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव पारेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न माग गरिन्। यस्तै, सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्तापाता लगाइदिन आग्रह गरे। सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढी प्रभावित भएकाले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गरे।

यातायात र पूर्वाधारको विषयमा बोल्दै सांसद भूमिका लिम्बू सुब्बाले मध्यपहाडी (पुष्पलाल) लोकमार्गका केही सडकखण्ड अवरुद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। सांसद नरेन्द्रकुमार केरूङले बेमौसमी मनसुनका कारण मध्यपहाडी लोकमार्गको फलैँचा (दोभाने) लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको यकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गरे। 

सांसद आशिष गजुरेलले बिपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढीका कारण बालबालिकाको ज्यान जान थालेकामा चिन्ता गर्दै विपद् व्यवस्थापनमा पूर्वसचेतना कार्य प्रभावकारी बनाउन सुझाव दिए। सांसद क्षितिज थेबेले गत जेठ ८ गतेको भीषण पानीले ताप्लेजुङ र पाँचथरमा विपद्जन्य घटनाका कारण प्रभावित जनतालाई क्षतिपूर्ति दिन माग गरे।

कृषि तथा अन्य क्षतिको सन्दर्भमा सांसद प्रेमबहादुर बयकले हालै आएको वर्षा र पहिरोका कारण अछामको रामारोशनमा दुई सय भेडाको क्षति भएको जानकारी दिँदै पीडित किसानलाई राहत उपलब्ध गराउन अनुरोध गरे। सांसद शम्भुप्रसाद ढकालले झापामा वर्षाका कारण बिजुली प्रभावित भएको र केराखेतीमा नोक्सानी भएकाले राहत दिन माग गरे। यस्तै, सांसद सुशान्त वैदिकले प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा केही दिनदेखि बिजुली बन्द भएकाले तत्काल ध्यान दिन आग्रह गरे।

विपद् बाहेकका अन्य जनसरोकारका विषयमा बोल्दै सांसद सन्दीप रानाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेस गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गरे। सांसद रामविनोद यादवले स्वास्थ्यकर्मीको लापरवाहीका कारण धनुषामा उपचारका क्रममा एक गर्भवतीको निधन भएकोमा दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन ध्यानाकर्षण गराए । 

अर्की सांसद रेखाकुमारी यादवले सर्वोच्च अदालतको फैसला विपरीत महोत्तरी जिल्लास्थित गौशालाको ३४ घरधुरी भत्काउन खोजिएकोमा आपत्ति व्यक्त गरिन् । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update