Khabar Out
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटनले कमी हुने प्रक्षेपण गरेको छ ।

देशभर धान बाली लगाइएको क्षेत्रफल र उत्पादकत्व दुवै घटेका कारण यस वर्ष कुल ५७ लाख पाँच हजार १२६ मेट्रिकटन मात्र धान उत्पादन हुने देखिएको छ । गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएकोमा यस पटक ४.२० प्रतिशतले ह्रास आएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार धान बाली भित्र्याइएको क्षेत्रफलमा पनि उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती गरिएकोमा चालु आर्थिक वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर कायम भएको छ ।

युवा पलायन, बढ्दो बसाइसराइ, खेतीयोग्य जमिनको प्लटिङ तथा औद्योगिक र भौतिक पूर्वाधार निर्माणमा जमिनको प्रयोग बढ्नाले धान खेतीको क्षेत्रफल घटेको हो । यसबाहेक फलफूल र नगदे बालीतर्फ कृषकको आकर्षण बढ्नुलाई पनि क्षेत्रफल घट्नुको अर्को कारण मानिएको छ ।

विशेष गरी मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा परेको खडेरीले उत्पादनमा ठुलो असर पारेको छ । खडेरीका कारण लक्ष्य अनुसारको क्षेत्रफलमा धान रोप्न नसकिएको र त्यसले समग्र राष्ट्रिय उत्पादनमै प्रभाव पारेको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा उन्नत बीउ र मलखादको उपलब्धता पर्याप्त भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा गिरावट आएको सूचना अधिकारी जोशीले स्पष्ट पारेका छन् । रासस

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update