Khabar Out
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए ।

मुख्यमन्त्री खगराज भट्ट पदभार ग्रहण गरे लगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको थियो । त्यसपछि उनले अनुगमनलाई निरन्तरता दिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, आइसीयू, गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन तथा निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले अस्पतालको सरसफाइ, भौतिक अवस्था र सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका थिए ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेष गरी सुदूर पश्चिमका नौ वटा जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिरामीको चाप, जनशक्ति र पूर्वाधारको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update