Khabar Out
तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग

काभ्रे । काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाइएको छ। जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ।

बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ।

अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डमा पर्ने महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने काम भइरहेको छ। तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ।

त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य स्थानमा सडक नाली र पर्खाल निर्माण तथा कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए।

सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाइएको यो योजना डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत सहज गराउने उद्देश्यले अघि बढाइएको थियो। पछि बागमती प्रदेशको राजधानी हेटौँडा आवतजावत गर्न कठिन हुने अवस्थालाई ध्यानमा राखी नागरिकको जीवनयापन सहज बनाउन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जाल जोड्न यो सडकलाई थप अगाडि बढाइएको हो। हाल प्रदेश सरकारले यस सडकलाई प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ।

पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ/सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम सुरु गरेको थियो। तर निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा सडक अलपत्रजस्तै अवस्थामा पुगेको थियो। पालिका र प्रदेश सरकारको निरन्तर दबाबपछि पटकपटक म्याद थप गरेर पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइएको छ।

श्रेष्ठ/सक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षको तुलनामा यो वर्ष काम तीव्र गतिमा अगाडि बढेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। हाल कालोपत्रका लागि ३० र ड्रेन वाल निर्माणका लागि ३५ जना जनशक्ति परिचालन गरी काम भइरहेको उनले बताए।

पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्ला वर्षभन्दा अहिले काम तीव्र गतिमा भइरहेको बताए। समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित गुणस्तरमा ध्यान दिँदै काम भइरहेको उनको भनाइ छ।

त्यस्तै रजबास–चारकिल्ला–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले पनि गति लिएको छ। निर्माण कम्पनीका सम्पर्क प्रबन्धक सुजन गिरीका अनुसार करिब ९५ प्रतिशत संरचनाको काम सम्पन्न भइसकेको छ। १५ दशमलव ५ किलोमिटर सडक खण्डमध्ये ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलान भइरहेको छ। आगामी असारसम्ममा काम सम्पन्न गर्न करिब एक सय जना जनशक्ति परिचालन गरिएको उनले बताए।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी, देवीटार, घर्तिछाप, गोकुले हुँदै खानीखोलाको तालढुङ्गा र मकवानपुरको भोर्लेनी–झुरझुरे भएर मदनभण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको छ। विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीमार्फत काम भइरहेको र करिब १८ किलोमिटरबाहेक अन्य खण्डमा निरन्तर निर्माण भइरहेको उनले बताए।

ढिलाइ भएको तीनखुट्टे–देवीटार खण्डको कामलाई निरन्तर बनाउन दबाब दिँदै आएको र पछिल्लो समय कामले तीव्रता पाएको जनाइएको छ। आगामी असारभित्र महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण सम्पन्न हुने विश्वास गरिएको छ। यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट अनुगमन भइरहेको तथा स्थानीयलाई पनि कामको गुणस्तर र निरन्तरतामा सहयोग गर्न आग्रह गरिएको छ।

सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ। केन्द्रीय विद्युतीकरण सम्पन्न भइसकेको छ भने सडक निर्माण पूरा भएपछि नागरिकको जीवनस्तरमा उल्लेख्य परिवर्तन आउने अपेक्षा गरिएको छ। रासस

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update