भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो ।
गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चियाखेतीका लागि रु तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । उनका अनुसार चियाखेती विस्तारमा एक हजार ३०० जना सेयर सदस्यको सहभागिता छ ।
“आमचोक गाउँपालिकामा चियाखेतीको प्रशस्त सम्भावना छ”, अध्यक्ष राईले भने, “हाल हामी बृहत रूपमा चियाखेती विस्तार गरिरहेका छौँ । चियाखेतीलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्दै स्थानीयको जीवनस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो ।”
प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आमचोक क्षेत्रका नाङ्गा तथा खाली पाखालाई हरियालीमा रूपान्तरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले चियाखेती विस्तार गरिएको हो । हालसम्म करिब सात सय रोपनीमा चियाखेती विस्तार भइसकेको अध्यक्ष राईले जानकारी दिए।
खाली जमिनको सदुपयोग गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि योजनाबद्ध रूपमा चियाखेती विस्तार सुरु गरेको हो । गाउँपालिकाभित्र चियाखेतीको राम्रो सम्भावना रहेको वडा नं १, २, ३ र ६ मा प्राथमिकताका साथ खेती विस्तार थालिएको छ । यी वडामा प्रशस्त खाली जमिनसँगै पर्यटन प्रवर्द्धनको सम्भावना रहेकाले दीर्घकालीन योजनासहित कार्यक्रम अघि बढाइएको अध्यक्ष राईले बताए ।
“गाउँपालिकाले योजनाबद्ध रूपमा चियाखेती विस्तार गरिरहेको छ”, उनले भने, “यहाँका खाली जमिनको सदुपयोग गर्दै आयआर्जन वृद्धि र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने हाम्रो प्रयास हो ।”
आमचोक गाउँपालिकाको माथिल्लो भेगमा प्रशस्त खाली चौर रहेको र उक्त क्षेत्र चियाखेतीका लागि उपयुक्त भएको अध्यक्ष राई बताउछन्। गाउँपालिकासँगै स्थानीयलाई निजी खाली जमिनमा चियाखेती विस्तार गर्न प्रोत्साहित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने उनले जानकारी दिए । उत्पादन भएको चियाको प्रशोधनका लागि वडा नं २ मा चिया प्रशोधन कारखानाको संरचना निर्माण भइसकेको गाउँपालिका जनाएको छ । मेसिन जडानको काम भने बाँकी छ । रासस



