काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए ।
उनले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गरे । 'आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अनुरोध छ', प्रवक्ता डा बुढाथोकीले भने ।
मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि अनुरोध गरेको छ ।



