Khabar Out
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीन बिचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारी चालकको पास नवीकरण प्रक्रिया आइतबारबाट सुरु भएको हो ।

निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक जनाको नयाँ पास जारी गरिएको र बसाइ सरी रसुवा जिल्ला बाहिरबाट आएका व्यक्तिको भने सरोहारवाला पक्षको सहमतिका आधारमा पछि गरिने छ ।

बसाइ सरी आएका मानिसको नवीकरण नर्गन जनदबाब आइरहेकाले नयाँ कार्यालय प्रमुखसमेत आएपछि सो सम्बन्धमा आवश्यक निर्णय हुने उनले जानकारी दिए ।

मितेरी पुल सञ्चालनका विषयमा चिनियाँ पक्षबाट एकिन जवाफ प्राप्त भएपछि मात्र आधिकारिक जवाफ दिन सकिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले स्पष्ट पारे । अन्तर्राष्ट्रिय नाका भएकाले सम्बद्ध दुई देशका अधिकारीबिचको बैठकपछि मात्र रसुवागढी नाका सञ्चालन हुने दिन तोक्न सकिने उनले बताए । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update