Khabar Out
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम् निजी संरचना आदिमा उनीहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update