Khabar Out
सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा बल्ल ६० प्रतिशत काम

बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

उक्त म्याद पनि आगामी विसं २०८३ जेठसम्म रहेको छ । रु २५ करोड ६१ लाख ३१ हजार १६६ मा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिए । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताए । यो अन्तिम म्याद रहेको बताउँदै उनले आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने बताए । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनले बताए । 

“लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,” उनले भने, “अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।”

स्वच्छन्द/ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए । 

विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ ।

यसैबीच बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले गत असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो ।  रासस 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update