बागलुङ । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदैछ ।
सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुतगतिमा काम अघि बढाएको छ । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेको र कामको प्रगति नभए कारबाहीमा लैजाने भनेपछि कामले गति लिएको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि तीन वर्षमा ६५ प्रतिशत प्रगति भएको र कालोपत्र सकिएमा एकैपटक धेरै प्रगति देखिने आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिए ।
गौतमले बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौताअगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकको भने थपिएको म्याद सकिनै लाग्दा बल्ल कामले तीव्रता पाएको छ ।
गौतमका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा दुई वर्षमा आधासमेत काम भएको थिएन । पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रका लागि समय नलाग्ने निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए ।
विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भुक्तानी समस्या तथा कच्चा सामग्रीको अभाव देखाउँदै काममा ढिलाइ भएको जनाएको छ । रासस



