कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिको प्रयोग गर्दै गाउँमै आत्मनिर्भर किसानको सफल उदाहरण प्रस्तुत गरेका छन् ।
अठार महिनाको कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउखेती गर्दै वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। खर्च कटाएर उहाँले वर्षमा करिब १० लाख रुपैयाँ नाफा कमाउने गरेका छन् ।
रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउ खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा तयार हुने र कन्या च्याउ २०–२५ दिनमा उत्पादन हुने बताउँछन्। पिँकी च्याउ पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यसको खेती स्थगित गरिएको छ ।
उनका अनुसार बेमौसमी कन्या च्याउ महेन्द्रनगर र झलारी बजारमा प्रतिकिलो ३५० रुपैयाँमा र मौसमी समयमा १०० रुपैयाँमा बिक्री हुन्छ, भने मिल्की च्याउ प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुने गरेको छ। विवाह, भोजभतेर र चाडपर्वमा माग बढ्ने भएकाले हाल उहाँले मोटरसाइकलमार्फत माग अनुसार विभिन्न स्थानमा आपूर्ति गर्दै आएका छन् ।
रानाले विसं २०७७ मा जेटिए अध्ययनकै क्रममा घरको गोठमा पराल उमालेर २५ डल्ला बनाएर पहिलोपटक च्याउखेती सुरु गरेका थिए । पहिलो वर्षको सफलतापछि बाँसको झुपडीमा ५०० डल्ला राखी उत्पादन विस्तार गरेपछि बजारमा सहज बिक्री हुँदै गएपछि व्यवसायिक रूप लिएको हो ।
हाल उनीसँग फलामका छवटा हाइटेक टनेल छन्, जहाँ वर्षभर च्याउ उत्पादन हुन्छ । पराल काट्ने, उमाल्ने र सुकाउने कार्यमा आधुनिक मेसिन प्रयोग हुन्छ । केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि अधिकांश उपकरण आफ्नै लगानीबाट खरिद गरिएको उनको भनाइ छ ।
‘आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च सबैमा बचत हुन्छ,’ रानाले भने, ‘बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ, त्यसका लागि अहिले इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने तयारीमा छु ।’
हाल उनको च्याउखेतीमा करिब २० लाख रुपैयाँ बराबरको लगानी छ । भविष्यमा लगानी बढाएर डल्ले च्याउ उत्पादन सुरु गर्ने योजना बनाएका छन् ।
रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताउँदै भने, ‘बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ, त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ ।’
उनका अनुसार च्याउमा पनि रोगव्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुन्छ। विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलतामा पुर्याएको रानाको भनाइ छ। ‘च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ,’ रानाले भने, ‘कृषि निकायहरूले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
आफ्नै प्रयास र लगनशीलताले सफल भएका वीरबहादुर राना गाउँमै बस्दै आधुनिक प्रविधिबाट आत्मनिर्भर बन्न सकिने प्रेरक उदाहरण बनेका छन् । रासस


