Khabar Out
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालन

हेटौँडा । सडकमा माथिबाट खसेका ठुला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा यातायात सञ्चालन भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठुला ढुङ्गाहरू खस्दा आज बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा खसेको ठुला ढुङ्गासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै सञ्चालन हुन सकेको छैन ।  अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारी साधनबिच बाटोमै रोकिएका छन् । 

पहिरो पन्छाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गा माटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update