Khabar Out
काटिसकेको धान भिजेपछि किसान चिन्तित

रामेछाप । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् ।  तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो ।

मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको  भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले बताइन् ।

धान झार्नका  लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताइन् ।

जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ । यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो । 

गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यस वर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति मन्थली नगरपालिका वडा नं–६ का किसान विमला ढुङ्गेलले चिन्ता व्यक्त गरिन् । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update