Khabar Out
पौवादुङमाको अकबरे खुर्सानी खेती : देशभरका किसानका लागि अध्ययन केन्द्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशैभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ । यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र उन्नत प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गरेको छ ।

गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ भने करिब नौ सय किसान यसमा आबद्ध छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार अध्ययन, अवलोकनका लागि देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञहरू आउने गरेका छन् । 

हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहितको टोलीले यहाँको खेती प्रविधि, आम्दानी र चुनौतीबारे स्थलगत जानकारी लिएको थियो । थारुले यहाँको प्रविधिबारे सिकेर आफ्नो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताए ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष खुर्सानी बिक्रीबाट मात्रै १८ करोड रुपैयाँ आम्दानी भएको थियो। खुर्सानी खेती अहिले मुख्य आम्दानीको स्रोत र अध्ययन केन्द्रको रूपमा विकास भइरहेको उनको भनाइ छ । 

गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

किसान ठंगजीत राईले ४२ रोपनी जग्गामा करिब ३२ हजार बिरुवा विस्तार गरी वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । पौवादुङमाको खुर्सानी खेतीले स्थानीय रोजगारी बढाउनुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update