Khabar Out
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

विराटनगर । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्‍याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेकोे छ । 

मोरङ जिल्लामा मात्रै २५ /३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ । निर्देशक बस्नेत भने,  “मौसम विज्ञान विभागको पूर्व जानकारी पाएपछि दसैँं सुरु हुनुअघि नै हामीले सबै अस्पताल र स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएका थियौँ । कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रीम तयारी गरिएको छ ।” 

इलाममा सडक अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको उल्लेख गर्दै उनले भने, “इलामतर्फ सडकसम्पर्क अवरुद्ध छ । त्यसैले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन् । तर जटिल उपचारलाई हेलिकप्टरमार्फत इटहरी ल्याएर उपचार गरिएको छ । आइतबार मात्रै प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टरमार्फत ल्याएर सुरक्षित रूपमा प्रसूति गराइएको छ ।”

निर्देशक बस्नेतका अनुसार आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन् । सङ्घीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ ।

उनले भने, “सोमबार बिहान ८ बजे प्रदेशस्तरीय बैठक बोलाइएको छ । त्यसमा १४ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशालाका प्रमुखसहित बृहत छलफल हुनेछ । बैठकमा मन्त्री र सचिवसमेत सहभागी हुनुहुनेछ ।” 

स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उनले स्पष्ट पारे । 

 प्रदेश विपद् व्यवस्थापन समितिसगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरणदेखि रोग रोकथामसम्मका विषय प्राथमिकताका साथ छलफल भइरहेको निर्देशक बस्नेतले जानकारी दिए । 

यसैबीच, कोशी अस्पतालका फिजिसियन डा रोशन खड्काले बाढीपछि सङ्क्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताएका छन् । उनका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिनसक्ने सम्भावना बढी छ । डा खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र सेवन गर्न आग्रह गरेका छन् । 

यो समयमा पानीजन्य रोग मात्र होइन, लामखुट्टे र भुसुनाबाट सरुवा हुने रोग देखिनसक्ने खतरा पनि उत्तिकै उच्च छ, डा खड्का भन्छन्, “हिजोदेखि नै पानीमा भिजेका कारण रुघाखोकी र ज्वरोका बिरामी अस्पताल आउन थालेका छन् । त्यसैले आवश्यक कामबाहेक घरबाहिर ननिस्कनु बुद्धिमानी हुन्छ, ।”

स्वास्थ्य समस्या देखिए आफैंँले औषधि सेवन नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान उनले आग्रह गरे । रासस

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update