Khabar Out
धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीबोकाको कारोबार

सुनसरी । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच चहलपहल बढेको छ । हरेक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रका किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्छन् ।

सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन् । उनले यसपटक १५ वटा खसीबोका ल्याए । हालसम्म एउटा मात्रै बिक्री भएको छ भने बाँकी अझै बेच्नुपर्ने उनले बताए ।

धनकुटाको सागुरीगढी गाउँपालिका–७ की ममता राई पनि नियमित रूपमा धरान बजारमा खसीबोका बिक्री गर्दै आएकी छन् । उनका अनुसार पशुपालन पुख्र्यौली पेसा भएकाले यो व्यवसायमा नोक्सानी हुँदैन । उनले वार्षिक रूपमा खसीबोका बिक्रीबाट नौ लाखभन्दा बढी आम्दानी गर्ने गर्छिन् ।

सुनसरीको दुहबी नगरपालिका–५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्छन् । उनी एक दिनमा १०० देखि १५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा पठाउने गरेका छन् । उनको भनाइमा, ३१ वर्षदेखि यो व्यवसाय गर्दै आएका उनी मासिक ८० हजारदेखि एक लाखसम्म नाफा कमाउँछन् ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ताको दुई दिन सञ्चालन हुने बजारमा दैनिक करिब ४ हजार ५०० वटा खसीबोका बिक्री हुन्छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब दुई अर्ब ४० करोड बराबरको कारोबार भएको छ ।

उनका अनुसार साउनमा लगातार वर्षा र भदौमा जेनजेड आन्दोलनका कारण ढुवानी अवरुद्ध हुँदा यस वर्षको कारोबार गत वर्षभन्दा केही कम भएको छ ।

धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रका किसान र व्यापारी खसीबोका बिक्रीका लागि आउने गर्छन् । यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म निर्यात हुने गरेको समितिले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update