Khabar Out
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया । कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फर्किएका हुन् । 

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।

फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए । उनले भने, ‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजी कार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ ।’

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैँ  ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update