Khabar Out
सुरक्षा टोलीको अप्रेसनपछि बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

बैतडी । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन् । 

संयुक्त सुरक्षा टोलीले कैन्दीबन्दी पक्राउ गर्ने ‘अप्रेसन’ सञ्चालन गरी हालसम्म ८४ प्रतिशत फरार कैन्दीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “जिल्लाका सबै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरेर फरार कैदी समात्न अप्रेसन सञ्चालन गरेका छौँ । अहिलेसम्म ८४ प्रतिशत भागेका कैदी समात्न सफल भएका छौँ ।”

भदौ २४ गते राति यहाँको कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए । उनका अनुसार तीमध्ये ५२ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएर कारागारमा राखिसकेको छ । 

फरार कैदी समात्नका लागि संयुक्त अप्रेसनका साथै भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनले भने, “कैदीहरू भागेपछि जिल्लाका सबै प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरी कैदीको हुलिया पठाएका थियौँ । सबैको सक्रियतामा हालसम्म ५२ जना पक्राउ परेका छन् ।”

प्रहरी प्रवक्ता पाण्डेयका अनुसार ४८ जनालाई जिल्लाका विभिन्न स्थानबाट र चार जनालाई एसएसबीको सहयोगमा भारतको पिथौरागढ जिल्लाबाट पक्राउ गरिएको हो । 

कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । उनले भने, “फरार कैदी खोज्न भारतीय प्रहरी, स्थानीय पालिकासँग समन्वय गर्नुका साथै हाम्रा प्रहरी युनिटलाई पनि सक्रिय गरेका हौँ ।”

संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी प्रमुख रायले जानकारी दिए । उनका अनुसार डडेल्धुराबाट छ, डोटीबाट चार र दार्चुला कारागारबाट भागेका एक जनालाई नियन्त्रणमा लिइएको हो । बाँकी फरारमध्ये १० जना कैदीको खोजी कार्य जारी रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

फरार बाँकी कैदीलाई कारागार फिर्ताका लागि अर्को सूचना जारी गर्ने तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए । उनले भने, “यसअघि पनि फरार कैदीलाई आफैँ कारागार फिर्ताका लागि सूचना जारी गरेका थियौँ, तर सबै सम्पर्कमा आएनन्, फेरि अर्को सूचना जारी गर्छौैँ । नआए कानुनअनुसार थप कामकारबाही अगाडि बढाउँछौँ ।”रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update