Khabar Out
स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा राजीनामा

काठमाडौं । जेनजी आन्दोलनका मागप्रति समर्थन जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले भाद्र २३ गते काठमाडौं लगायत देशभर सडकमा देखिएको आन्दोलनका क्रममा जेनजी पुस्ताले उठाएको विषय भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी भएको भन्दै लेखेका छन्,

‘हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशै भरीका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।’

मन्त्री पौडेलले आफू अहिंसा लोकतन्त्रको प्राण भएको सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै निहत्था छोराछोरीको पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको भनेका छन् ।

‘अहिंसा लोकतन्त्रको प्राण हो” भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको म,  हिजो आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न सकिन। जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको ब्यबहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन ।’

उनले राजीनामामा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा कार्यकालभरि अटुट सहयोग र विश्वास प्रदान गरेको भन्दै पार्टी नेपाली कांग्रेस,मलाई सफल बनाउन सल्लाह सुझाव तथा सहयोग उपलब्ध गराउने विज्ञ, मेरो निर्वाचन क्षेत्र काठमान्डौं पाचका जनसमुदायप्रति आभार व्यक्त गरेका छन् ।

राजीनामामा उनले नागरिकको स्वास्थ्य सेवामा दिन रात नभनि समर्पित मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारी, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिएका छन् ।

आफ्नो व्यक्तिगत जीवन र नेपाली कांग्रेस पार्टीले सिकाएको सबैभन्दा ठुलो आदर्श– लोकतन्त्रको केन्द्रमा आमनागरिक हुनुपर्छ। राज्य विधि र पद्धतिले चल्नुपर्ने तथा विधि र पद्धतिमाथि आँच आयो भने त्यसको रक्षा गर्न जुनसुकै मुल्य चुकाउन पनि तयार हुनु पर्ने रहेको उनले उल्लेख गरेका छन् ।

‘लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनु पर्छ र असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गरिनु पर्छ। यो नै मेरो राजनीतिक जीवनको सबै भन्दा ठूलो आदर्श हो,’ उनले लेखेका छन् ।

मन्त्री पौडेलले आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह नभै सुधारको अपेक्षा रहेको भन्दै यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्ने बताए । ‘उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो,’ उनले लेखेका छन् ।

एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु अनि अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनुजस्तो नैतिक संकटमा रहन नसकेको भन्दै उनले लेखेका छन्, ‘त्यसैले,  लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु। 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update