
भक्तपुर । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ ।
यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।
दुवै जात्राको आ–आफ्नै विशेषता रहेको छ । बोदेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ््याएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ । यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात रुट नहुनु हो ।
यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोही अनुसार गतवर्ष पनि जिब्रो छेडाएका वीरेन्द्रभक्तले काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यसवर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो ।
साँझ सुरु हुने जात्राको लागि मध्यपुरथिमिमा दिउँसोदेखि चहलपहल बढ्दै गएको थियो । जात्रा सञ्चालनका लागि एक महिना अघि नै कमिनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेका थिए । यसैगरी राजदरबारको प्रतिनिधिको रुपमा काठमाडौँको हनुमानढोका दरबारबाट राज खड्गसमेत ल्याइएको थियो ।
जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरेका थिए । जात्राको लागि दिगुलीको प्रचण्ड भैरव अघिको डवलीमा मञ्च तयार गरिएको थियो । जात्रा सुरु गर्न एक समूहले थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठलाई परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्गसहित लिएर आए । यही बेला जिब्रो छेडाउन तयार भएका वीरेन्द्रभक्त परम्परागत पोसाकमा सहयोगी समूहको साथमा मध्यपुरथिमि नगरभित्रका देवीदेवतालाई बत्ती दिन गइरहेका थिए ।
बत्ती दिने कार्य सकिएपछि वीरेन्द्रभक्तलाई दिगुलीस्थित डवलीको मञ्चमा ल्याई पु्याएर वीरेन्द्रभक्त मञ्चमा चढेपछि उपस्थित सर्वसाधारणले जयजयकार गरे । मञ्चमा पुगेर वीरेन्द्रभक्तले सबैलाई दुई हात जोडेर नमस्कार गरे । वीरेन्द्रभक्त मञ्चमा पुगेपछि जिब्रो छेड्ने सुइरो र कमिनायो भने आइपुगेको थिएन । केही बेरको प्रतिक्षापछि निगालोको चिम्ता बजाउँदै एक समूहले सुइरो लिएर आए । त्यसको पनि केही समयपछि मात्र कमिनायो बाबुकाजी कमी श्रेष्ठलाई दिगुलीको डबलीमा ल्याई पु-याए ।
त्यसपछि वीरेन्द्रभक्तलाई छोएर बाबुकाजीले वरिपरी अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको एक फिट लामो तीन मुख भएको सुइरोले बाबुकाजीले साँझ ८ बजेर ४० मिनेटको समयमा वीरेन्द्रभक्तको जिब्रो छेडिदिए ।
कमिनायोले सुइरोलाई वीरेन्द्रभक्तले टाउकोमा बाँधेको बेतलीमा अड्काइ दिए। त्यसपछि वीरेन्द्रभक्तले दुई हात जोडेर उपस्थित सर्वसाधारणलाई नमस्कार गर्दै मञ्चमा तीन फन्को लगाए । उपस्थित सबैले पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै दिगु भैरवको पनि जयजयकार गरे। त्यसपछि दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्राकारको महादीप ‘भ्ये’ काँधमा बोकेर वीरेन्द्रभक्त नगरपरिक्रमा गर्न निस्किए । वीरेन्द्रभक्त भन्दा अघि साय्मी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता लगिएको थियो । हजारौँ स्थानीय पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्किए ।
वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवको परिक्रमा गरे । त्यसपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्परा अनुसार क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरे । जात्राको परम्परा अनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोही अनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गरेका हुन् ।
त्यसपछि बालकुमारी, शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु हुँदैँ राति करिब ११ बजे वीरेन्द्रभक्त हजारौँं श्रद्धालुका साथ भक्तपुर दरबार स्क्वायर पुगेका थिए । चोङ्गा गणेश स्थान पुग्दा स्थानीयले नेवारी परम्परा अनुसार दही सगुन दिएर स्वागत गरेका थिए । भक्तपुरको दूधपाटीमा भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाको तर्फबाट स्वागत गरेका थिए ।
दरबारस्क्वारमा हजारौँ भक्तपुर नगरवासी वीरेन्द्रभक्तको प्रतिक्षामा थिए । वीरेन्द्रभक्त दरबारस्क्वायर पुगेपछि सबैले तालीको गडगडाहट र कलकल ध्वनीले स्वागत गर्नुका साथै जयजयकार गरेका थिए । वीरेन्द्रभक्तलाई हेर्न बाटोमा लस्करै स्थानीय बसेका थिए । भक्तपुर दरवारस्क्वायरबाट सुकुलढोका हुँदैँ राति ११.३० बजे वीरेन्द्रभक्त दत्तात्रय मन्दिर पुगे । दत्तात्रय मन्दिरलाई तीन पटक परिक्रमा गरी उनी भक्तपुरको नवदुर्गा द्योछें पुगे । त्यहाँ नवदुर्गाको दर्शन गरी पुनः दत्तात्रय, सुकुलढोका हुँदैँ उहाँ टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको दर्शनका लागि पुगे ।
टौमढीबाट बंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोशेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भूलाँखेल, चोडे, निगुपुखु हुँदैं आज बिहान करिब ३ बजे बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको थियो ।
बालकुमारी परिसरमा थिमि लाय्कूका पमानायो श्यामकाजी श्रेष्ठ र पमा सूर्यलाल श्रेष्ठ वीरेन्द्रभक्तलाई पर्खेर बसेका थिए । पमानायोले वीरेन्द्रभक्तको जिब्रोबाट सुइरो निकालेर बालकुमारी मन्दिरभित्रको काठमा ठोकी दिए र वीरेन्द्रभक्तको जिब्रोमा नित्यनाथको माटोे राखेपछि जात्रा सम्पन्न भयो । वीरेन्द्रभक्तले जिब्रो छेडाएको यो चौंँथो पटक हो । उनले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका हुन् । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जिवन्तता दिन त्यतिखेर उनी जिब्रो छेडाउन तयार भएका हुन् । उनले दोस्रो पटक २०७९ मा जिब्रो छेडाएका थिए भने तेस्रो पटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् । रासस