Khabar Out
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए । 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन् । उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् ।

‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ’ उनले भने, ‘डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’

दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए ।

महाकालीमा बढ्यो जलस्तर
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताए ।

नदीमा पानीको बहाव एक लाख क्युसेकपुेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update