Khabar Out
नेपालमा उत्पादन हुने अण्डा अब ‘एन्टीबायोटिकरहित’

चितवन । पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेका छन् । उनले नवलपरासीस्थित दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरूपमा निषेध गरिएको उदाहरण प्रस्तुत गर्दै हाल खोप र जडिबुटीजन्य खुराकमार्फत रोग नियन्त्रण गर्ने गरिएको जानकारी दिए ।

पहिले दाना र पानीमा प्रयोग हुने एन्टीबायोटिक (एजीपी) रोकिएपछि अब कुखुरालाई भ्याक्सिन दिइने र खोरमा हर्बल सामग्री खुवाइने गरिएको छ । यसले अण्डामा कुनै अवशेष पुग्ने नगरी रोग नियन्त्रणमा मद्दत गर्ने दाहालको भनाइ छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि सङ्घभित्रका फार्महरूले एन्टीबायोटिक प्रयोग नगरेको पुष्टि गर्दै गुणस्तरीय अण्डा उत्पादनमा जोड दिइएको बताए । उनका अनुसार, जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै भ्याक्सिन र हर्बल प्रयोगमार्फत सुरक्षित अण्डा उत्पादनलाई प्राथमिकता दिइएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउन वैकल्पिक उपाय अपनाइएको र नेपालमा उत्पादन हुने अण्डा सुरक्षित रहेको उल्लेख गरे । तर, सीमा क्षेत्रबाट आयात हुने अण्डाको गुणस्तरबारे भने अनिश्चितता रहेको उनको भनाइ छ ।

फिजिसियन डा. भोजराज अधिकारीले पनि कुखुराको रोग अण्डामा नजाने भएकाले एन्टीबायोटिकरहित अण्डा अझ स्वस्थकर हुने बताए । उनका अनुसार, मानव स्वास्थ्यका लागि अण्डा अझ उपयोगी बन्नेछ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update