Khabar Out
प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस बिरामीको चाप थेगिनसक्नु

सिरहा । प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिनका लागि बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीनवर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ । बिरामीको चाप वढेसँगै सेवा विस्तारका लागि स्रोत साधनको अभाव देखिएको छ । 

अस्पतालमा हाल १०  डायलाइसिस उपकरण मार्फत सेवा दिइँदै आएको छ । अस्पताल प्रमुख डा सुनिलप्रसाद कुशवाहाका अनुसार दैनिक १० जना बिरामीले सेवा लिइरहेका भए तापनि अन्य कम्तीमा २० जना बिरामी दिनहुँ पालो पर्खिरहेका हुन्छन् । “मिर्गौला प्रत्यारोपण सम्भव नभएको अवस्थामा डायलाइसिस नै एकमात्र अस्थायी समाधान हो । तर बिरामीको चापले गर्दा उपचारका क्रममा कोही बिरामीको मृत्यु भएपछि मात्र नयाँ बिरामीलाई पालो मिल्ने अवस्था छ”, उनले भने ।
  
यस अस्पतालमा निःशुल्क डायलाइसिस सेवा दिइँदै आएको छ । निजी क्षेत्र वा अस्पताल बाहिर एक सत्रको डायलाइसिस सेवा रु सात हजारसम्म पर्न सक्ने हुँदा आर्थिक रूपमा कमजोर बिरामीका लागि सिरहा अस्पताल भरोसाको केन्द्र बनेको छ ।

यद्यपि सेवा प्रभावकारी भए पनि अस्पतालले ९८ प्रकारका आवश्यक औषधिको अभाव, रगत अभाव र उपकरण अभाव झेलिरहेको छ । डा कुशवाहाका अनुसार मधेस प्रदेश सरकारले करोडौँ मूल्यका उपकरण उपलब्ध गराए पनि अझै पनि डायलाइसिस सेवा सुदृढ बनाउन करोडौँ मूल्यका उपकरणको अभाव छ ।

हालको उपकरणको सङ्ख्या बिरामीको सङ्ख्या तुलनामा अपुग भएको र बिरामीलाई सेवा दिन थप उपकरण, जनशक्ति र औषधि आपूर्ति आवश्यक भएको अस्पताल प्रशासनले बताएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update