Khabar Out
स्वीकृत दरबन्दीको आधामा सञ्चालन हुँदै नार्क

काठमाडौँ । नेपालको कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्न स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्वीकृत दरबन्दीको आधा सङ्ख्यामा सञ्चालन भइरहेको छ । 

नार्कमा स्वीकृत दरबन्दी एक हजार ८२३ रहेकामा हाल ९१९ जना मात्र कार्यरत रहेका नार्कका सूचना अधिकारी डा सुधा सापकोटाले जानकारी दिइन् । नार्कमा अहिले पनि ९०४ दरबन्दी रिक्त छ । समयमा विज्ञापन नभएको, ढिला गरी भएको विज्ञापन पनि परिणाम आइसकेपछि मुद्दा परेर रोकिँदा जनशक्ति कम हुँदै गएको हो ।  

“रिक्त रहेका पदमा मुख्य वैज्ञानिक एस–५ को स्वीकृत दरबन्दी ३२ रहेकामा हाल आठ जनामात्र कार्यरत रही २४ पद रिक्त छन् । वरिष्ठ वैज्ञानिक एस–४ को स्वीकृत दरबन्दी सङ्ख्या ४५ रहेकामा ४५ कार्यरत छन् । सबैभन्दा बढी रिक्त वरिष्ठ वैज्ञानिक एस–३ को स्वीकृत दरबन्दीमा छ । जसमा स्वीकृत दरबन्दी १६४ रहेकामा आठ जनामात्र कार्यरत छन् । भने बाँकी पद रिक्त छन्”, उनले भनिन् ।  

वैज्ञानिक एस–२ को स्वीकृत दरबन्दी सङ्ख्या १०८ रहेकामा १०८ कार्यरत रहेका सूचना अधिकारी सापकोटाले जानकारी दिइन् । उनका अनुसार वैज्ञानिक एस–१ को स्वीकृत दरबन्दी ६१ रहेकामा १५ जना कार्यरत छन्, प्राविधिक अधिकृततर्फ स्वीकृत दरबन्दी सङ्ख्या ३२४ रहेकामा १६८ कार्यरत छन् । त्यस्तै, प्राविधिक सहायकतर्फ स्वीकृत दरबन्दी सङ्ख्या ६९१ रहेकामा ३६७ कार्यरत रहँदा ३२४ पद रिक्त छन् ।

लेखातर्फ स्वीकृत दरबन्दी सङ्ख्या ८३ रहेकामा ४९ कार्यरत, प्रशासनतर्फ स्वीकृत दरबन्दी सङ्ख्या ३१२ रहेकामा १४८ कार्यरत रहेका नार्कका प्रवक्ता कालिकाप्रसाद उपाध्यायले जानकारी दिए । 

भएका वैज्ञानिकले उमेर हदका कारण अवकाश पाउने, नयाँ विज्ञापन गर्दा अदालतमा गएर ढिलाइ हुने, कार्यरत युवा वैज्ञानिक पनि अवसरको खोजीमा विदेशिने क्रम बढेकाले काममा समस्या हुँदै गएको उनको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update