Khabar Out
वान्तवा भाषाको पाठ्यक्रम निर्माण गर्दै माङसेबुङ गाउँपालिका

इलाम । माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि लागू गर्ने भएको छ । त्यसका लागि माङसेबुङले ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण गर्न एक कार्यदल गठन गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ । 

“सरोकारवालाहरूसँगको छलफल र परामर्शपछि वान्तवाभाषीहरूको बाहुल्यता रहेको क्षेत्रमा पठनपाठन गर्नेगरी वान्तवा भाषा पाठ्यक्रम निर्माण सुरु गरेका छौँ”, गाउँपालिका अध्यक्ष राईले भने, “पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरेर काम अगाडि बढाइसकिएको छ ।” 

कार्यदलमा जीवनज्योति माविका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा शिक्षक उदय राई, सकुन्ताला राई, अम्बिकाप्रसाद राई, पूर्वशिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत (छैटौँ) युवराज खनाल रहनेका छन् ।

किरात राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राईले वान्तवा भाषा पाठ्यक्रम निर्माण हुनु समग्र वान्तवाभाषीका लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए । “संविधानप्रदत्त मातृभाषा शिक्षाको अधिकार उपयोगमा माङसेबुङ गाउँपालिकाले सुरु गरेको कार्यलाई सकरात्मक रूपमा लिएका छौँ”, उनले भने, “यसलाई कार्यान्वयन गर्न हाम्रो संस्थाको तर्फबाट सकरात्मक सहयोग रहनेछ।”

नेपालको संविधानको भाग ३ धारा ३१ मा शिक्षाको हकअन्तर्गत उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम माङसेबुङले मातृभाषा शिक्षाका लागि वान्तवा भाषाको पाठ्यक्रम निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । 

यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रूपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ । त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।

माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीन, माध्यमिक विद्यालय कक्षा (१–१०) सात, आधारभूत विद्यालय (कक्षा १–८) १६ र  आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (१–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन् । 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा यसअघि लिम्बू भाषा पाठ्यक्रम लागू गरेको माङसेबुङले यसपटक वान्तावा भाषा पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं ५ मा २०७५ देखि नै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा घोषणा गरी कार्यान्वयन गर्दै आएको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update