Khabar Out
म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले  कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ । 

यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । यसअगाडि यस ठाउँमा कृषकले एक्लाएक्लै रूपमा कोदो रोप्ने गरेपनि यसपटकदेखि भने सामूहिक रूपमा कोदो खेतीलाई अगाडि बढाइएको उनको भनाइ छ । 

उनका अनुसार यहाँ गाउँपालिकाको सहयोगमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ । उनले भने “पहिला पनि यहाँ मकै र कोदो खेती हुन्थ्यो, तर अहिले कृषकलाई सङ्गठित रूपमा कोदो खेतीमा आकर्षित गर्न खोजेका हौँ ।” माझिलाङ र हर्षपुरमा कोदो खेती हुने गरेको छ । 

म्याग्देका अन्य वडामा भन्दा यस क्षेत्रमा कोदो राम्रो उत्पादन हुने गरेको छ । यहाँका कृषकलाई आवश्यक उपकरण पनि प्रदान गरिएको छ ।

बजारमा कोदोको राम्रो माग रहेको जनाउँदै उनले भने, “पहिला पहिला कोदो लुकेर खाने प्रचलन थियो, आजभोलि परिस्थिति फेरिएको छ, हुने खानेले पनि कोदोको प्रयोग गर्ने अवस्था बढेको छ ।”

माझिलाङ कृषक समूहका अध्यक्ष श्याममाया नाम्जाली दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो रोपिएको जानकारी दिए । उनका अनुसार विगतमा छुट्टाछुट्टै रूपमा कोदो खेती गर्ने गरिएको थियो ।

म्याग्दे गाउँपालिकाकाले कोदो खेतीलाई प्राथमिकतामा राखेको जनाउँदै अन्य वडामा पनि यसलाई विस्तार गरिने स्पष्ट पारेको छ । 

कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले यसको खेतीमा फाइदा रहेको जनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update