Khabar Out
नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

मन्थली । नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ ।  गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो ।

महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो । 

पुल बगाएपछि  सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो । यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरू खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । 

यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरेको छ । दुई दिनभित्र बेलीब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update