
काठमाडौं । आगामी पुसभित्र नागढुंगा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।
कूल ९० प्रतिशत भौतिक प्रगति भइसकेको र हाल १० प्रतिशत काम मात्र बाँकी रहेको नागढुंगा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको परामर्शदाता संस्था निप्पन कोइकाका इञ्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी गराए ।
'अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा तिनको संयोजन भइरहेको छ । सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,' इञ्जिनियर कोइरालाले भने, 'अहिले उक्त सञ्चालक निकायको छनोट प्रक्रिया अगाडि बढिरहेको छ र छनोट भएपछि तालिम लिनुपर्ने हुन्छ, जसमा दुई महिना जति लाग्न सक्छ ।'
उनका अनुसार सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरूङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार तथा सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) उपलब्ध गराउने कार्यलाई अन्तिम रूप दिइँदैछ ।
पूर्वी मुख काठमाडौँको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने २ दशमलव ७ किलोमिटर लामो सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धारलगायत कार्यका लागि सहायक सुरूङसमेत खनिएको छ ।
सञ्चालनमा आएपछि नागढुंगादेखि बलम्बुसम्मको भौतिक दूरी करिब तीन किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा देखिने जाम, उकालो र घुमाउरो बाटोजस्ता कारण इन्धन तथा सडक प्रयोगकर्ताको करिब एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।
सुरूङमार्ग निर्माणका क्रममा देखिएका भौगोलिक अनिश्चितता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको कोइरालाले बताए । सुरूङमार्गमा निस्किने पानीको व्यवस्थापनबारे स्थानीय बासिन्दा, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराए ।
सिस्ने खोलातर्फ निर्माण गरिँदै आएको पार्कको काम भने जग्गाको स्वामित्वसम्बन्धी विवादका कारण स्थगित गरिएको छ । मालपोत दस्तावेजमा सो जग्गा धनीको नामअन्तर्गत सडक विभाग र व्यक्तित्व दुवैको नाम परेकाले त्यहाँ अप्ठ्यारो भएको कोइरालाले बताए । रासस