Khabar Out
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन, पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबार काठमाडौंमा भव्य रूपमा सुरु भएको छ । दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यसाथ आयोजना गरिएको एक्स्पोको उद्घाटन विशेष समारोहबीच गरिएको हो ।

उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो सवारीसाधनको प्रदर्शनी मात्र नभई सम्पूर्ण मोबिलिटी क्षेत्रलाई एकै थलोमा जोड्ने साझा मञ्च भएको बताइन् । उनले नीतिगत अस्थिरताले अटोमोबाइल क्षेत्रमा लगानी विस्तारमा चुनौती सिर्जना गरेको उल्लेख गर्दै निजी क्षेत्रसँगको परामर्शपछि मात्र नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई केवल राजस्वको स्रोतका रूपमा नभई देशको आर्थिक विकाससँग जोडिएको आवश्यक क्षेत्रका रूपमा हेर्नुपर्ने बताए । विद्युतीय सवारीसाधनको विस्तारका लागि स्थिर नीति आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्रले सरकारलाई ठूलो राजस्व प्रदान गर्ने भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान पुर्‍याउँदै आएको बताए ।

एक्स्पोको पहिलो दिन विभिन्न कम्पनीहरूले ४८ नयाँ सवारी मोडल सार्वजनिक गरेका छन्। आयोजकका अनुसार पहिलो दिनमै २९ हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेका छन् भने मेलाभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोमा नेपालमा पहिलोपटक भित्रिएका ब्रान्डसहित विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले सवारी खरिदका लागि विशेष छुट र सहुलियतपूर्ण कर्जाको सुविधा पनि उपलब्ध गराइरहेका छन् ।

पहिलो दिन ‘लगानी र वैदेशिक प्रत्यक्ष लगानी : आर्थिक वृद्धिको आधार’ विषयमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र, निजी क्षेत्र तथा लगानीसम्बन्धी विज्ञहरूको सहभागिता रहेको थियो ।

छ दिनसम्म सञ्चालन हुने एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । आयोजकका अनुसार एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार, दिगो यातायात प्रणालीको विकास तथा नयाँ लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update