Khabar Out
अनाथ बच्चाहरुले बाबा भन्दा धेरै गर्व लाग्छ : अधिवक्ता पिटर जंग कुँवर

कानून व्यवसायमा जल्दोबल्दो युवाको नाम हो पिटर जंग कुँवर । साहित्यका धेरै विधालाई यिनले आफूभित्र समेटिएका छन् । कथाकार, गजलकार, कवि, निवन्धकार, स्कृष्ट राइटर, लेखक, पत्रकार, कानून व्यवसायी, करातेँ प्रशिक्षक, योगा प्रशिक्षक, पूर्व सरकारी कर्मचारी, समाजसेवी मान्छे एक क्षमता अनेकका धनी कुँवरको सानै उमेरमा यति धेरै प्रतिभा एउटा व्यक्तिमा हुनु साँच्चै आश्चार्य लाग्दो कुरा हो । जुन क्षेत्रमा पाइला राखेँ त्यहीँ क्षेत्रमा आफ्नो गहिरो छाप छाड्न सफल हुँदै आएका उनै युवा प्रतिभाका धनी पिटर जंग कुँवरसँग गरिएको सम्वाद :

पत्रकारितामा आफ्नो राम्रो परिचय बनाइरहेको मान्छे एकाएक कानून व्यवसायतिर लाग्नु रहस्य के हो ?

पत्रकारिता मैले पेट पाल्नलाई गरेको थिएँ । कलेज भर्ना भएपछि कुन विषय पढ्दा मेरो पेट भरिन्छ । अनि पढाई र पेटमाथि एकसाथ कसरी न्याय गर्न सकिन्छ भनेर मैले डा.नेत्र अटम ज्ञवाली सरसँग सल्लाह गरेको थिएँ । उहाँले त्यसको लागि पत्रकारिता पढ्नुपर्छ भन्ने सुझाव दिनुभयो । अनि पत्रकारिता पढ्न थाले । पछि विभिन्न कारणले गर्दा पत्रिकाले समयमा तलब दिन सकेनँ । अर्कोतिर कानून पढ्न मन पनि लाग्यो । पछि कानूनलाई पेशा बनाउन थालेँ । 

तपाईं कथाकार, गजलकार, कवि, लेखक, पत्रकार, कानून व्यवसायी, करातेँ प्रशिक्षक, योगा प्रशिक्षक, समाजसेवी के भनेर सम्बोधन गर्ने ? यति कलिलो उमेरमा कसरी सम्भव भयो ?

हजुरले भन्नुभएको जस्तो अनौठो त मलाई केही पनि लाग्दैन । मलाई जिन्दगीले जसरी नचायो म त्यसरी नै नाचेँ । जीवनका आँधीहुरीले जहाँ–जहाँ उडायो र जहाँ–जहाँ पछार्यो म त्यहीँ रमाउन खोजँे । मैले जुन बेला जे गरेँ त्यसलाई मानिसले मेरो प्रतिभा भनेर नामाकरण गरिदियो । मलाई यो भन्दा धेरै केही पनि लाग्दैन । तर मानिस कहिल्यै पनि पूर्ण ज्ञानी हुनै सक्दैन । जीवनको अन्तिम साससम्म केही न केही सिकिरहेको हुन्छ मानिसले । हरेक दिन नयाँ कुरा सिक्नुमा मलाई पनि विशेष रुची लाग्छ । म पढाइमा कति अब्बल थिएँ भन्ने कुराको जवाफ त मलाईं नजिकबाट चिन्नुहुने, मलाई जीवनमा सफल बनेको देख्न चाहनु हुने मेरा स्कुल तथा कलेजका शिक्षक शिक्षिकाले मात्रै दिन सक्नुहोला । मैले आफूलाई कहिल्यै अब्बल देखिनँ । मैले जीवनमा धेरै कुरा सिक्नुछ । 

कानुन व्यवसायी, पत्रकार हुदै नयाँ सामाजिक संस्था पनि खोल्नु भएछ अनि यो संस्थाको उद्देश्य चाहिँ के हो ?

सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा के हो भने म एक्लैले संस्था खोल्न सम्भव नै हुँदैन । त्यसैले यो संस्था मैले खोलेको होइन । मेरो टिमले खोलेको हो । मेरो सत्कर्म गर्ने चाहनामा सबै दाजूहरुले मलाई साथ दिनुभएको हो । मसँग हातेमालो गर्न तयार हुनुभएको हो । मेरो विचारसँग उहाँहरुले सजिलैसँग आफ्नो विचार मिलाई दिनुभयो । त्यसैले संस्था खोल्न सम्भव भएको हो । म सानैदेखि विशेष गरी अनाथहरुको लागि केही गर्न चाहान्थे । जुन चाहनालाई दीर्घकालसम्म स्थायित्व दिन संस्थागत रुपमा मात्रै सम्भव हुने हुँदा मैले टिम बनाएँ । अनि मेरो त्यही टिमले यो संस्था खोलेको हो । एक्लो व्यक्तिले संस्था खोलिँदैन । टिमका सबै दाजुहरु प्रति म धेरै आभारी छु । म जस्तो सानो मान्छेको विचारमा आफूलाई समाहित गरिदिनुभयो । संस्थामा सबै दाजुहरुले मलाई अध्यक्ष बन्नलाई जोड गर्नुभएको थियो । तर, दाजुहरुमा मैले जुन जोस र क्षमता देखेँ, सो आधारमा उहाँहरुलाई यो यो पद सम्हालिदिनुस् भनेर अनुरोध गरेँ । सबै दाजुहरुले मेरो अनुरोध एकै बचनमा स्वीकार गरिदिनुभयो, यसको लागि पनि उहाँहरु प्रति असीमित आभारी छु । संस्थामा म सबैभन्दा सानो भएर पुच्छरमा बसेको छु । अनाथ लगायत समाज सेवाको अन्य क्षेत्रमा केही गर्ने लक्ष्य संस्थाले लिएको छ ।

अनाथहरुको सहारा पनि बन्दै आउनु भएको छ भन्निछ नि ?

हो, आफुले सक्ने जति गर्दै आएको छु । मैले पत्रकारिता गर्दा पहिलो महिनाको तलब ८ हजार बुझेको थिएँ । सो बेलामा ८÷८ हजार पाउदा अत्यन्तै खुसी थिए । मेरो बाहिर होटलको खाने बानी थिएन र अहिले पनि छैन र अर्को कुरा राम्रो लगाउने रुची छैन । र फजुल खर्च गर्न मन लाग्दैन । मलाई पहिलो तलबबाट केही असल काम गर्न मन लाग्यो । रातभरि सोँचे पछि दूई जना अनाथ बच्चालाई कक्षा १० सम्म पढाउन त अवस्य सक्छु भन्ने निर्णयमा पुगे । अनि दुई जना अनाथ बच्चाको जिम्मा लिएँ र एउटा बोडिङ स्कुलमा भर्ना गरिदिएँ । मैले आफ्नो नाम नलेखी ती बच्चाको फोटो राखेर समाचार तयार गरेँ । त्यसबेला नेपाल समाचार राष्ट्रिय दैनिकमा बद्री तिवारी सर सम्पादक हुनुहुन्थ्यो । यो समाचारको हिरो भनेकै त्यो विद्यार्थी हो जसले यी बच्चाहरुलाई १० कक्षासम्म पढाउने जिम्मा लिएको छ । उसको नाम नखुलाइकन समाचार पूरा हुन सक्दैन भनेर सम्पादकले भन्नुभयो । मैले वास्तविकता बताए । आफैले ती दुई नाबालकलाई कक्षा १० सम्म पढाउने जिम्मा लिएको कुरा सुनाएँ । उहाँले मलाई माया भरिएको आँखाले हेर्नु भयो । अनि आशिर्वाद भरिएको मुस्कान मुस्कुराउनु भयो । अनि मेरो नाम उल्लेख नगरी समाचार छपाउने अनुमति दिनुभयो । त्यस बाहेक एक दुई जनालाई मैले आफूले सके जति गर्ने कोशिस गरेको छु । मैले जीवनमा धेरै पटक नोकरी बदल्नुप¥यो । त्यसैले चाहेको जति गर्न सकिनँ । अब भने धेरै गर्न सक्छु भन्ने हिम्मत मिलेको छ । 

अनाथ बच्चाले यहाँलाई बाबा भन्छ रे नि ? सुन्दा कस्तो लाग्छ ? 

धेरै गर्व लाग्छ । कत्ति पनि अनौठो लाग्दैन । रविभवनमा एक आमाघर छ । जसको संचालिका दिलशोभा श्रेष्ठ हुनुहुन्छ । विद्यार्थी जीवनमै उहाँको सम्पर्कमा पुगे म । उहाँलाई सानो ठूलो सबैले आमा भनेको सुन्दा मेरो कलिलो मस्तिष्कमा गहिरो प्रभाव पर्यो । त्यहाँ देखि मलाई पनि अनाथ बच्चाहरुले बाबा भने हुन्थ्यो भन्ने रहर जागेको हो । यहाँ धेरै अनाथालयहरु छन् । जसको संचालक संचालिकालाई सबैले आमा बाबा नै भन्छन् । त्यसको पनि प्रभाव परेको छ मलाई । मैले सानै उमेरमा मदर टेरेसालाई पढेँ । उहाँ एक अविवाहिता नारी भएर पनि सबैको आमा हुनुहुन्थयो । उहाँलाई सबै उमेरकाले मदर भन्थे । उहाँले आफ्नो देश छोडेर अरुको देशमा बसेर समाज सेवाको क्षेत्रमा संसारलाई त्यत्रो ठूलो गुण लगाउनुभएको छ । हामी मानिस जातिले यस्ता महान् व्यक्तित्वहरुले गरेको महान कामको सानो नक्कल मात्रै गर्न सक्यौ भने पनि हृदयमा गहिरो आनन्द प्राप्त हुन्छ । म चाहान्छु भोलिका दिनमा सयौं हजारौं अनाथको बाबा बन्न सकौं । सबैको शुभेच्छा सहयोग र आशिर्वाद पाए भने यो छिटै सम्भव हुन सक्छ ।

विगतमा झैझगडा गरेर हिड्ने मान्छेमा रातारात कसरी पत्रकार, वकिल बन्ने सोच आयो ? 

यो सबै समयको खेल हो । पत्रकारितासगै वकालतमा पनि हात हाले । अहिले वकालत पेसालाई नै समय दिइरहेको छु । जहाासम्म पहिलाको कुरा गर्नुपर्दा शुरुमा म किक बक्सिङ र करातेँ सिकाउथेँ । सो बेला युवा जोसले होला कसैसँग पनि डर लाग्दैन थियो । कुनै कुरासँग पनि डर लाग्दैन थियो । अरुहरु मलाई कुट्न ग्याङ लिएर आउदा पनि म डराइन । कतिले खुकुरी रड लिएर मलाई मार्न आए । तर, कहिल्यै डर लागेन । बरु हतियार लिएर आउनेहरु मसँग धेरै समय टिक्न सकेनन् । एकदिन मेरो टाउकोमा पछाडिबाट कसैले खुकुरीले छप्प छप्काइहाल्यो । रगतको धाराले बग्न अलिकति पनि ढिला गरेन । मैले उसको खुकुरी खोसेर फाले र राम धुलाई गरेँ । जब ऊ भाग्यो मैले आफूलाई आफ्नै रगतको आहालमा पाएँ । त्यो खुकुरीको ठूलो चोटको निसानी अझै पनि मेरो टाउकोमा छ । यस अर्थमा बुझिहाल्नुभयो मलाई डर लाग्दैन । तर, एक वर्ष यता मलाई डर लाग्न थालेको छ । कसैको लागि बाँच्ने रहरले डर जन्मिएको छ म भित्र । केही कुरा गुमाउने डर । जुन कुरा गुमाए भने म जीवनमा बास्तवमै रित्तो हुन्छु भन्ने लाग्छ । यहि एउटा कुराको डर छ मलाई । हेर्दै जाउँ भगवानको के इच्छा हुन्छ अब । 

अनि पुलिसलाई पनि कुटियो रे नी ? के सत्य हो ?

म बसेको ठाउँमा लागू औषध दुव्र्यासनीको बिगबिगै थियो । म सानै थिएँ । ट्युसन पढाएर आफ्नो खर्च चलाउथेँ । तीन जना पुलिस आयो र मेरो जिन्स ज्याकेटको कुममा समातेर उचाल्यो । र, मेरो खल्तीमा हात हाल्यो । यो पुलिसको धर्म हुँदै होइन । कानूनले पुलिसलाई यसो गर्न अनुमति दिएकै छैन । मेरो नयाँ जिन्स ज्याकेटको काखी च्यातियो । तिमीहरुले पैसा खोजेको होला भेट्दैनौ भनेको मात्रै के थिएँ एक जनाले मेरो घाँटीमा झ्याम्म बजाइहाल्यो । सबै शरीर झननन भयो। आफूमाथिको नियन्त्रण गुमाएँ मैले । एक–एकलाई बजाउन थाले । मैले के गरिरहेको छु भन्ने कुरा मलाई थाह थिएन । पछि पुलिस कुट्दै छु भन्ने होस आयो । अनि मेरो फाइटिङ आर्ट, जोस, ताकत सबै त्यही बेला हरायो । त्यस बेला एक जना पुलिसले मलाई लात हानेको थियो । रोक्न खोज्दादेब्रे हातको कुइनोमा लाग्यो । हप्ता दश दिनसम्म दुखेको थियो कुइनो । तर, आज पुलिस डिपार्टमेन्टका केही पुलिस अफिसर्सप्रति धेरै गर्व लाग्छ मलाई । एक दुई जना पुलिसको इमानदारीताले अझै पनि पुलिस डिपार्टमेन्टप्रतिको विश्वास कायम छ । एउटा वकिल र पत्रकारको आँखाले देख्ने पुलिस र सामान्य जनताको आँखाले देख्ने पलिसमा आकाश पातलको फरक छ । पुलिस डिपार्टमेन्टमा धेरै सुधार हुनु पर्छ जस्तो लाग्छ ।

डरै नलाग्ने मान्छेलाई फेरि एउटा गुमाउनु पर्ने कुराको डर भन्नुभयो, कस्तो डर हो त्यो ? बताउन मिल्छ ?

यो मेरो नितान्त निजी जीवनको कुरा हो । त्यो डरको खास कारण हामी ३ जनालाई मात्रै थाह छ । हामी ३ जनाभन्दा धेरैलाई यो थाह हुँदैन अब । डरको जुन कारण सोध्नु भयो हजुरले त्यो शंका हो । स्वाभाविक शंका हो त्यो । जुन हरेक मानिसमा हुन्छ । जसले मभित्र यस बेला ठूलो डर पैदा गरिरहेको छ । 

शंका त्यति खतरनाक हुन्छ है ?

मानव जीवनको सबैभन्दा ठूलो शत्रु नै शंंका हो । श्रीकृष्णले आफ्नो प्रिय भक्त अर्जुनलाई उपदेश दिँदै भन्नुभएको छ, शंका मानिसको सबैभन्दा ठूलो शत्रु हो र शंकाको कुनै उपचार छैन । ईशाइहरुको पवित्र धर्मशास्त्रबाइबल,मुसलमानहरुको कुरान, बुद्धमार्गीहरुको त्रिपिटक लगायत सबै धर्मशास्त्रले शंकालाई खतरनाक मानेको छ । यसबाट बच्नको लागि सबै धर्मग्रन्थहरुले मानिसलाई सजक गराउँदै आएको छ । आजको आधुनिक मेडिकल साइन्सले पनि शंकालाई खतरनाक मानसिक रोग मानेको छ । शंकाबाट छुटकारा दिलाउन म्याडिकल साइन्सले काउन्सिलिङको साथै औषधी पनि चलाउने गरेको छ । त्यसैले शंका सारै नै खतरनाक हुन्छ । शंकाले शंकालु मानिस र जो मानिसप्रति शंका गरिन्छ, दुवैको जिन्दगी बरवाद गरिदिन्छ । शंकाकै आधारमा श्रीमानले श्रीमतीको हत्या गरेको समाचार प्राय तपाईंहरुले छापिरहनुभएको हुन्छ । एउटा अति नै मायालु–सुन्दर सम्बन्ध र परिवार क्षणभरमा तहसनहन बनाइ दिन्छ शंकाले । ऋषिमुनि सन्तहरुले शंकाको समाधान गर्न हजारौं वर्षदेखि आफ्नो जीवन समर्पण गर्दै आएका छन् । आजको दिनमा पनि इन्टरनेटमा गुगल सर्च गर्नुस् हजुरले । यही शंकाको बारेमा तयार पारिएको कयौं प्रवचन र पुस्तकहरु पाउन सक्नुहुन्छ । शंका सारै खतरनाक हुन्छ ।विश्वास र प्रेमको ब्रह्मास्त्रले मात्रै शंकामाथि जित हासिल हुन्छ । शंकाले मान्छेलाई अन्धो बनादिन्छ र उसको बुद्धिले आँखा देख्दैन । शंकाले टाउको उचाल्ने बित्तकै त्यसको टाउको कुच्याउन सक्नुपर्छ ।नत्र क्षण भरमै सुन्दर अनि मायलु सम्बन्ध खरानी बनाइदिन्छ । 

शंकाको विषयमा धेरै कुरा गर्नु भयो, यसबाट बच्न के गर्नुपर्छ जस्तो लाग्छ ?

मैले भनेको नै सतप्रतिसत सहि हो भन्न चाहनन् तर धर्मशास्त्र र आधुनिक मेडिकल साइन्सको सु–उक्ति पैँचो लिएर भन्नुपर्दा प्रेम र विश्वास मात्रै यस्तो हतियार हो, जसले शंकामाथि सजिलै विजय प्राप्त गराउन सक्छ । जसले मानवबीचको युद्ध जित्छ ऊ वीर कहालाउँछ । जसले आफूभित्रको शंकालाई जित्छ ऊ वीरहरुको पनि वीर अर्थात् महावीर कहा लाउँछ । त्यसैले हामीले धर्मशास्त्र र आधुनिक विज्ञानको सुझावलाई जीवनमा उतार्ने कोशिश गर्दै माया र विश्वासलाई विकासित गर्ने कोशिश गरिरहनुपर्छ । यस्ता वुद्धिमानी मानिसले नै आफ्नो र आफ्नो मान्छेको जीवनलाई सुखी र सफल बनाउन सक्छ । हामीसँग हरेक पाइलामा दुईवटा विकल्प हुन्छ । शंका कि विश्वास ? झुट कि सत्य ? अल्छी बन्ने कि परीश्रमी ? धोका कि प्रेम ? सत्कर्म कि कुकर्म ? खुसी कि जलन ? यस्ता कयौं अवस्था छन् जुन हामी मान्छेले पाइलै पिच्छे परीक्षा दिइनै रहनुपर्छ । जसले सहि छनौट गर्दै अगाडि बढ्छ ऊ आफू पनि खुसी र सफल हुन्छ अनि अरुलाई पनि खुसी र सफल बनाउन सक्छ । 

अहिलेसम्मको भोगाइमा जीवन के हो ?

यो उमेरमै मैले जीवनलाई कसरी परिभाषित गर्न सकौंला र ? तरै पनि सोधिहाल्नु भयो, अहिलेसम्म मेरो बुझाइमा जीवन झुट हो । अन्तिम सत्य भनेको मृत्यु नै हो । जीवनले हजुरलाई पाइलै पच्छिे भ्रममा पार्छ । तर, मृत्यु स्पष्ट छ । यसले मान्छेलाई कहिल्यै धोका दिँदैन । कहिल्यै भ्रममा पार्दैन । जीवनको कुनै ग्यारेन्टी छैन । मृत्यु शतप्रतिशत ग्यारेन्टेड छ । सारै पङ्च्युल छ मृत्यु । ठिक समयमा आउँछ अनि आफ्नो काम गरेर जान्छ । शंकालु मान्छे पश्चतापमा जलिरहन्छ । अनि जो मृत्युको हात समातेर जान्छ, ऊ मुस्कुराइरहन्छ । हरेक मानिसलाई मर्नै पर्छ एक दिन । यो विधिको लेखान्त नै हो । त्यसैले शंका त्यागौं माया र विश्वासले यो संसारलाई सुन्दर बनाऊ । मलाई यस्तो लाग्छ ।

अबको भावी योजना के छ ?

खासै केही छैन । मैले सुरुमा हजुरलाई भनेको थिएँ नि जीवनको आँधीहुरीले जहाँ जसरी उडायो अनि जहाँ पछार्यो म त्यहीँ खुसी हुन खोजेँ । वास्तवमा त्यहाँ सुखी हुनु बाहेक मसँग अर्को कुनै विकल्प पनि थिएन । मैले जीवनमा कहिल्यै ठूलो सपना देखिनँ । मसँग ठूलो सपना देख्ने कुनै हैसियत नै थिएन । किन कि मैले देखेको ठूलो सपनालाई साकार बनाउनको लागि मलाई साथ दिनलाई अघिपछि कोही पनि छैन मेरो । त्यसैले जीवनले जसरी नचायो म त्यसरी नै नाचिरहेको मान्छे हो । तर हेरौं यो वर्ष एउटा गीत रेकर्ड गराउने र त्यसको म्युजिक भिडियो बनाउने उद्देश्य छ । गीतमा मेरै शब्द, लय र आवाज रहने छ । त्यसको म्युजिक भिडियोमा पनि आफै प्रस्तुत हुने विचार छ तर डाइरेक्टरले जे भन्छ त्यही गर्छु ।  जीवनमा धेरै हण्डर खाएँ । अब सानो सुन्दर संसारमा रमाउने मन छ । बाँकी कुनै योजना छैन । सुन्दर जीवन बाँच्नु बाहेक अर्को कुनै योजना बनाउँदिन पनि अब । जुन सुकै बेला मृत्युले अंगाल्न सक्छ । त्यसैले माया र विश्वासमा जीवनको धेरै आनन्द उठाउन चाहन्छु । 

अन्तिममा केही भन्न चाहनुहुन्छ ?

मेरो जीवनका धेरै आयामहरुलाई महत्वपूर्ण विषय बनाउनुभयो । यसको लागि हजुर, हजुरको मिडिया र हजुरको टिमप्रति धेरै धेरै आभारी छु । 


 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update