
चितवन । यहाँको भरतपुर महानगरपालिकामा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय मानसिक सम्मेलन सुरु भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले सो सम्मेलनको उद्घाटन गर्दै भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्पका साथ सबै जुट्न आग्रह गरेकी छन् । उनले अरु विशेषज्ञ सेवा लिने थलोका रूपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस गरेको बताइन् । उनले भनिन्, ‘मेडिकल सिटीमा अर्को एउटा आयाम थप्न हामी इच्छुक र तत्पर छौँ ।’
सम्मेलनको निष्कर्षलाई नीति निर्माणको तहमा पुर्याउन र कार्यान्वयन गर्न सबैले योगदान दिन जरुरी रहेको उनको भनाइ छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा सुरु भएको सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले सीमित स्रोत र साधनको भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
मानसिक स्वास्थ्य उपचारको समुदायस्तरमा अझै पहुँच पुग्न नसकेको उनको भनाइ छ । उनले भनिन्– ‘यो सम्मेलनले समाजको तल्लो तहसम्म सन्देश प्रवाह गर्ने छ, र केही हदसम्म भएपनि मानसिक समस्या न्यूनीकरण गर्न भूमिका निर्वाह गर्नेछ ।’
दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले देशको विकास सूचक त्यहाँका जनताको स्वास्थ्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्ध देश बनाउन सकिने बताए । कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भने, ‘आफूले जानेको सीप र ज्ञान समाजमा दिनका लागि कार्यक्रम फलदायी हुने छ ।’ कार्यक्रम संयोजक श्रीधर पौडेलले विकसित देशमा पनि मानसिक रोग विकराल रूपमा रहेकाले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हट्दै गएको बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको उपकुलपति डा.प्रदिप ज्ञवाली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा.शैलेन्द्र अधिकारी, डा.सिम्रन चौधरीलगायतले आफ्ना धारणा राखेका थिए ।
सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाललगायतका देशका सहभागी छन् । सम्मेलनमा ६० भन्दा बढी कार्यपत्र प्रस्तुती र १०० भन्दाबढी वक्ताले मानसिक स्वास्थ्यका बारेमा चर्चा गर्ने जनाइएको छ । ‘समुदायका लागि सामुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ । सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक सङ्घ संस्था र स्वास्थ्य शिक्षाका विद्यार्थीसमेत सहभागी छन्।
चितवन मेडिकल कलेज, नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वदेशी र केही विदेशी संस्थासमेतको सहकार्यमा सम्मेलन सुरु भएको हो । रासस