Khabar Out
नौ वर्षपछि कञ्चनपुरको दोदा नदीमा पुल बन्दै

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका  र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ ।

पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ । 

सडक डिभिजन कार्यालयका अनुसार पुल निमार्णको सम्झौताअनुरुप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेस्ट’मा फेल हुँदा निर्माणको काम अगाडि बढ्न सकेन । सडक डिभिजन कार्यालयका अनुसार पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्नेगरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको हो ।

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाले पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको बर्ताए । उनले भने, ‘अहिले पुल निमार्णको काम तीव्रगतिमा भइरहेको छ असारसम्म सक्ने तयारी छ ।’ 
सम्झौताअनुसार पुल निमार्णको काम आगामी माघमा सक्नुपर्ने समयसीमा छ । तर, पुल निर्माण कम्पनीले बर्खामा पुलमा आवतजावत गर्नेगरी काम गरिरहेको जनाएको छ । पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । 

दोदा नदीमा पुल नहुँदा वर्षौदेखि यहाँका स्थानीयवासीले आवतजावतमा समस्या झेल्दै आएका छन् । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन् ।  ‘नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्खामा नदी तर्नुपथ्र्यो’, उनले भने, ‘अहिले त पुल आधा बनिसक्यो हामी खुसी छौँ ।’

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update