बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ ।
प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकार र राप्ती सोनारी गाउँपालिकाको समान रु २०/२० लाखको लगानीमा भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणसँगै प्रहरी चौकीको कार्यालय सञ्चालन तथा दैनिक कार्यसम्पादनमा सहजता हुने छ ।
भवन हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष पौडेलले शान्तिसुरक्षा, अमनचयन तथा सामाजिक सद्भाव कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उनको भनाइ छ ।
प्रहरीलाई सुरक्षित र व्यवस्थित वातावरणमा रहेर सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश सरकारसँगको साझेदारीमा भवन निर्माण गरिएको अध्यक्ष पौडेलले बताए । उनले प्रहरी र स्थानीय सरकारबिचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न तथा नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख सुरेश कोइरालाले प्रहरी चौकीका लागि आवश्यक भवन निर्माण गरी हस्तान्तरण गरेकोमा प्रदेश सरकार र गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरे । व्यवस्थित भौतिक संरचनाले प्रहरीको कार्यसम्पादन सहज बनाउनाका साथै नागरिकलाई उपलब्ध गराइने सेवा थप प्रभावकारी हुने उनले बताए ।
राप्ती सोनारी गाउँपालिका–७ का वडाअध्यक्ष रामलखन थारुले प्रहरी चौकीको भवन निर्माण हुनु वडाको सुरक्षा व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए । प्रहरी चौकीका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माणमा आफ्नो कार्यकालभित्र पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रहरी चौकी फत्तेपुर (क) का इन्चार्ज प्रहरी सहायक निरीक्षक भूपतेन्द्र खड्काले नयाँ भवनबाट जनतालाई सहज रूपमा सेवा प्रदान गर्न सकिने बताए । भवनले प्रहरी कर्मचारीलाई कार्यालय सञ्चालन तथा दैनिक कामकाजमा सहजता प्रदान गर्ने उनको भनाइ छ ।
स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकीको भौतिक तथा संस्थागत क्षमता विकास आवश्यक रहेको स्थानीयले बताएका छन् । नयाँ भवन निर्माण तथा हस्तान्तरणले प्रहरी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने उनीहरूको अपेक्षा छ । रासस







