काठमाडौं । नेपाली चलचित्र इतिहास मै सबै भन्दा धेरै कमाउन सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशन रहेको पछिल्लो चलचित्र ‘सिन्दुरे जात्रा’ आगामी मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
चलचित्रमा ‘पूर्णबहादुरको सारङ्गी’बाट चर्चामा आएको विजय बराल र अञ्जना बराइलीको लोकप्रिय जोडी पुनः एकसाथ देखिनेछ । उनीहरूको यो दोस्रो सहकार्य हो ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, कमलमणि नेपाल, भोला राज सापकोटालगायत कलाकारको अभिनय रहेको छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् । नेम महर्जन निर्माता रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनर र बिग मुभिज थिएटर पार्टनर रहेका छन् ।







