जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् ।
जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा उनले कुरीतिविरुद्ध समुदायस्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिइन् ।
उनले सडक नाटकसहित विभिन्न माध्यमबाट बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक चेतना बढाउन सहयोग पुग्ने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी मधेस प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदाय र सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सात वटा बालविवाह रोकिएको जानकारी दिए । उनले आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको बताउनुभयो । बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सडक नाटकमार्फत बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो । रासस







