Khabar Out
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् ।

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो । घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरिएको हो ।

साहारा समूहका संयोजक प्रकाश पौडेलले दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाएर काठ र ढुङ्गामाटोको प्रयोग गरेर दुईवटा घर निर्माण गरेको बताए । घर निर्माणका लागि काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए ।

समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर अस्थायी आवास बनाएका हुन् । विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको उनले बताए ।

त्यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले बताए ।

असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्‍याएको छ । विपद्बाट प्रभावित परिवारलाई पुनः स्थापना गर्न स्थानीयवासी, विभिन्न सङ्घसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update