काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकामा गहिरो चिन्ता व्यक्त गर्दै नागरिक र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का अनुसार, मङ्गलबार र बुधबार गाजाका सबै प्रान्तमा, विशेषगरी इजरायली सेनाको नियन्त्रण क्षेत्र छुट्याउन निर्धारण गरिएको सीमारेखाको पश्चिमतर्फ, हवाई आक्रमण, गोलाबारी, विस्फोट तथा गोलीबारीका घटना भएका छन्।
चिसो र वर्षायाम नजिकिँदै गर्दा राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले गाजामा इन्धन, त्रिपाल, जाडोका कपडा, औषधि तथा स्वास्थ्य सामग्री पुर्याइरहेका छन्। तर, सीमित आपूर्ति, आर्थिक स्रोतको अभाव र इजरायली प्रतिबन्धका कारण जनताको आवश्यकता पूरा गर्न तथा राहत वितरण गर्न कठिनाइ भइरहेको ओसिएचएले जनाएको छ।
यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कको रमल्लाहमा इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी नागरिक समाजका संस्थाका कार्यालय र चिकित्सा परिसरमा छापा मारेर कागजात तथा उपकरण जफत गर्नुका साथै केही व्यक्तिलाई हिरासतमा लिएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ।
कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत प्यालेस्टिनी नागरिक क्षेत्रमाथिको दमन तत्काल रोक्न इजरायली अधिकारीहरूलाई आग्रह गरेको छ। यस्ता छापा र मानव अधिकार रक्षकहरूको हिरासतले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानव अधिकारसम्बन्धी काममा नकारात्मक प्रभाव पारिरहेको कार्यालयले जनाएको छ । रासस







