जनकपुरधाम । बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषाका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा विश्रामस्थल स्थापना गरिएको छ ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा यात्राका क्रममा हुन सक्ने ठगी र दुर्व्यवहार नियन्त्रण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषाको समन्वयमा जनकपुरधाम बसपार्क, रामानन्द चोक, मुजेलिया, ढल्केवर, लालगढ र पोर्ताहामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
यात्राका क्रममा टिकट तथा भाडादरसम्बन्धी गुनासो, ठगी, दुर्व्यवहार तथा अन्य समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै हराएका सामानको खोजतलास र आकस्मिक सुरक्षासम्बन्धी सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
यसैगरी यात्रुहरूलाई यात्राका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको अगाडि शुद्ध खानेपानी तथा शौचालयको सुविधासहित विश्रामस्थल स्थापना गरिएको छ ।
प्रहरीले यात्राका क्रममा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, आकस्मिक सहायता आवश्यक परेमा प्रहरीको टोलफ्री नम्बर १०० वा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । रासस







