म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनःआधार शिविर पुगेका हुन् ।
विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको सेभेन समिट टेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए ।
“हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौँ”, उनले भने, “मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।”
असोज ८ देखि ११ गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो । मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनःआरोहण सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
“हाल हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल छ”, उनले भने, “भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम छ ।” शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
धौलागिरि आरोहण अनुमतिवापत रु ८२ लाख ४२ हजार ५० दस्तुर सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । पर्वतारोहीहरूको समन्वय गर्दै आएका म्याग्दीको दानाका ब्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका पर्वतारोहीको टोली पनि धौलागिरिको आधार शिविर पुगिसकेको बताए ।
गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए भने । छिनछिनमै परिवर्तन भइरहने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहण बढी जोखिमपूर्ण, कठिन र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्वीस-अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरि हिमालको शिखरमा पहिलोपटक पाइला राखेपछि यहाँ आरोहण सुरु भएको थियो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरि शिखरमा पुगिसकेको विवरण छ ।
धवलागिरिमा हिमाल आरोहणका साथै पर्यटकहरू ‘राउन्ड धवलागिरि’ पदयात्राका लागि पनि जाने गर्छन् । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर नौ दिनमा टुङ्गिन्छ । रासस







