तनहुँ । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ ।
यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ ।
कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुरतर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँतर्फको निर्माण कार्य भने बल्ल सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिए । कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताए । अध्यक्ष थापाले पहुँच सडक निर्माण कार्य छिटो सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताए ।
पुलको नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माण कार्य भने यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए । उनले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेको बताए । रासस







