बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ।
उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन गर्न लागेको अभियानबारे सरोकारवालासँग छलफल तथा अभिमुखीकरणसमेत गरेको छ। उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत एवं कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्रै अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। अभियानमा घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ।
अधिकृत रिमालले भने, “यस वर्ष डेंगु रोकथाम अभियानलाई २३ वटै वडाका टोलटोल र बस्तीसम्म पुर्याँछौँ । घर तथा समुदाय वरिपरि पानी जम्ने स्थानको खोजी गरी लामखुट्टेको बासस्थान र लार्भा नष्ट गरिनेछ ।” अभियानमा स्वास्थ्य संस्था प्रमुख, जनप्रतिनिधि, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक लगायतका सरोकारवालाको सहभागिता रहनेछ । यस पटकको अभियानमा डेंगु तथा स्क्रब टाइफसबारे सरोकारवालालाई अभिमुखीकरण गरी समुदायस्तरमा जनचेतना फैलाइने उनको भनाइ थियो।
उनका अनुसार अभियानमा सङ्क्रमितको उपचार तथा तथ्याङ्क व्यवस्थापनमा सहजीकरण गरिनेछ । भेरी अस्पताल, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज तथा नेपालगञ्जका निजी अस्पतालबाट हुने उपचार र सङ्क्रमणसम्बन्धी तथ्याङ्क व्यवस्थापनमा समन्वय गरिने जानकारी दिइएको छ।
विगतमा सञ्चालन गरिएको ‘खोज र नष्ट गर’ अभियानपछि डेंगु सङ्क्रमण घटेको थियो । प्रमुख रिमालले भन्नुभयो, “विगतमा पनि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेपछि डेंगु सङ्क्रमण घटेको तथ्याङ्क छ । त्यसैले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ।”
उनका अनुसार डेंगु सार्ने लामखुट्टे कात्तिक–मङ्सिरसम्म सक्रिय रहने भएकाले सो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य शाखामा लार्भा परीक्षणका लागि आवश्यक पर्ने कीटको भने अभाव रहेको बताइएको छ।
यसैबिच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका मलेरियाका फोकल पर्सन रत्नप्रसाद शर्माका अनुसार नेपालगञ्जका विभिन्न अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा हालसम्म ९० जना डेंगु सङ्क्रमित भेटिएका छन् । तीमध्ये भेरी अस्पतालमा ४४ जना र अन्य निजी अस्पतालमा ४६ जना सङ्क्रमित रहेको पाइएको थियो।
फोकल पर्सन शर्माले भने, “अहिले उपमहानगरपालिकाका विभिन्न अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थामा जाँच गर्न आउनेमध्ये ९० जनामा डेंगुको संक्रमण देखिएको छ ।” उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म डेंगु सङ्क्रमितको सङ्ख्या कम देखिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख समीरप्रताप सिंह डेंगु सङ्क्रमण रोकथामका लागि सबै जिम्मेवार निकाय गम्भीर भएर काम गर्नु बताउनुहुन्छ । उहाँले नगरका २३ वटै वडामा प्रभावकारी अभियान सञ्चालन गर्न सरोकारवालालाई निर्देशनसमेत दिए।
उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि नागरिकलाई आफ्नो घर, आँगन तथा समुदाय वरपर पानी जम्न नदिन, गमला, कुलर, एसिलगायत पानी जम्मा हुने स्थान नियमित सफा गर्न र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गरेको छ । रासस







