काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार (असोज २२ गते) विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न सङ्घसंस्थाले दिवसका अवसरमा आँखा परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछन् । यस वर्षको नाराले नियमित आँखा परीक्षण, समयमै उपचार तथा सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिएको छ ।
नेत्रज्योति सङ्घका अनुसार पछिल्लो दशकमा नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा बढेको छ । सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको प्रचलन सन् २०२२ को सर्वेक्षणमा ०.२८ प्रतिशतमा झरेको छ ।
तर ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित रोग तथा दृष्टिदोषजस्ता समस्या चुनौतीका रूपमा रहेका छन् । बढ्दो औसत आयु, नसर्ने रोग र डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा थप जोखिम बढाएको सङ्घले जनाएको छ ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रले अबको प्राथमिकता रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका समुदायसम्म पहुँच विस्तारमा हुनुपर्ने बताए । उनले नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।
सङ्घका अनुसार हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सङ्घअन्तर्गत २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्रबाट आँखा सेवा प्रदान हुँदै आएको छ ।
सङ्घले बालबालिका, ज्येष्ठ नागरिक तथा मधुमेहजस्ता जोखिम भएका व्यक्तिले नियमित आँखा परीक्षण गर्नुपर्ने जनाएको छ । दृष्टिमा सामान्य परिवर्तन देखिए पनि बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुग्न आग्रह गरिएको छ । राससरासस







