Khabar Out
कांग्रेस केन्द्रीय सदस्यमा कुमार लुइँटेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा युवा नेता कुमार लुइँटेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ भन्ने नारासहित उनले पार्टीको नेतृत्व तहमा नयाँ पुस्ताको सहभागिता र पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै लुइँटेलले ऐतिहासिक तथा सहिद भूमि ओखलढुङ्गाको प्रतिनिधित्व गर्दै कांग्रेसभित्रको रूपान्तरण र पुस्तान्तरणको बहसलाई व्यवहारमा उतार्न आफूले उम्मेदवारी दिएको बताएका छन् । समयअनुकूल कांग्रेसलाई थप ऊर्जाशील, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउन आफ्नो भूमिका आवश्यक रहेको उनको दाबी छ।

लुइँटेलले पार्टीको परम्परागत मूल्य, मान्यता र राजनीतिक विरासतलाई सम्मान गर्दै नयाँ पुस्ताको सोच, ऊर्जा र आकांक्षालाई नेतृत्वमा स्थापित गर्नुपर्ने धारणा राखेका छन्। उनले १५औँ महाधिवेशनका प्रतिनिधिहरूसँग सहयोग, समर्थन र विश्वासका लागि समेत अपिल गरेका छन् ।

लुइँटेलको उम्मेदवारीलाई २०८२ सालको प्रतिनिधिसभा निर्वाचनको परिणामसँग जोडेर पनि हेरिएको छ। ओखलढुङ्गा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेलसँग जम्मा ५ मतको झिनो अन्तरले पराजित भएका थिए । पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा लुइँटेलले १३ हजार ९४८ मत पाएका थिए ।

अत्यन्तै नजिकको प्रतिस्पर्धामा पराजित भए पनि लुइँटेल राजनीतिक गतिविधिबाट पछि हटेनन् । निर्वाचनपछि पनि उनी संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध विस्तार र जनतासँगको प्रत्यक्ष संवादमा सक्रिय रहँदै आएका छन् । यही सक्रियतालाई निरन्तरता दिँदै उनले अहिले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी घोषणासँगै लुइँटेलले महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाट र संवादलाई समेत तीव्र बनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्नुका साथै विभिन्न स्थानमा प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर आफ्नो उम्मेदवारीका आधार र भावी राजनीतिक एजेन्डाबारे छलफल गरिरहेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने बहस पनि तीव्र बनेको छ । पुरानो पुस्ताको अनुभव र राजनीतिक विरासतलाई जोगाउँदै नयाँ पुस्ताको ऊर्जा तथा बदलिँदो समयको अपेक्षालाई पार्टी नेतृत्वमा समेट्नुपर्ने आवाज उठिरहेका बेला लुइँटेलको उम्मेदवारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा अत्यन्तै झिनो मतान्तरले पराजित भएका लुइँटेलले अब पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो राजनीतिक दाबी अघि सारेका छन् । ओखलढुङ्गाको प्रतिनिधित्व गर्दै कांग्रेसको नेतृत्व तहमा युवा पुस्ताको आवाज स्थापित गर्ने उनको प्रयासलाई आगामी महाधिवेशनले कस्तो अनुमोदन गर्छ भन्ने विषय भने चासोको विषय बनेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update