भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको देवस्थल क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले संरक्षणका काम अघि बढाइएको हो ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको देवस्थल परिसरमा घेराबारा, पूजास्थल निर्माण, मुहान संरक्षण तथा सरसफाइ गरिएको वडा कार्यालयले जनाएको छ । मन्दिर क्षेत्रको धार्मिक महत्वलाई कायम राख्दै पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यका साथ संरक्षणलाई प्राथमिकता दिइएको हो ।
हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले महाङकाली मन्दिर स्थानीयस्तरमा प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको बताए। उनले मन्दिरको संरक्षणसँगै आवश्यक पूर्वाधार विकासमा वडा कार्यालयले ध्यान दिएको बताए । “महाङकाली मन्दिर यहाँको प्रसिद्ध तीर्थस्थल हो । यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै संरक्षण र विकासमा जोड दिएका छौँ”, उनले भने ।
विशेष गरी किरात समुदायको उँधौली र उभौली पर्वका अवसरमा यहाँ विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान हुने गरेको स्थानीयबासी बाचीधन राईले बताए । पर्वका समयमा स्थानीयसँगै छिमेकी जिल्लाबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।
मन्दिरको संरक्षणसँगै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न थप पूर्वाधार विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । मन्दिर क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ ।
मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनलाई सहज बनाउने उद्देश्यले रु दुई लाख ५० हजारको लागतमा पूजास्थल निर्माण गरिएको वडाध्यक्ष विष्टले बताए । त्यस्तै, मन्दिर परिसरमा रहेको मुहान संरक्षण गरी स्वच्छ खानेपानीको स्रोतलाई सुरक्षित गरिएको छ । मन्दिर क्षेत्रको वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउन झाडी सफाइ, परिसर व्यवस्थापन तथा पहुँचमार्ग सुधारका काम सम्पन्न भएका छन् । रासस







