काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा कांग्रेसका नेतासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पार्टीको आन्तरिक एकता, संविधान संशोधन, शान्ति प्रक्रिया र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका छन् ।
कांग्रेस सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाको प्रतीक्षामा महाधिवेशन स्थलमा कुर्सी खाली राखिएको बताएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवा उपस्थित नभए पनि पार्टी र लोकतन्त्रमा उनको योगदानको सम्मान हुनुपर्ने बताए ।
“शेरबहादुर दाइ आउनुहुन्छ भनेर हामीले कुर्सी खाली राख्यौँ । उहाँ आउनुभएन,” थापाले भने, “शेरबहादुर दाइको सम्मान उहाँको दैलोमा पुगेर कतिपटक सलामी दियो भन्ने रहँदैन । उहाँले नेतृत्व गरेको पार्टीलाई कुन कदमा पुर्यायो भन्नेमा उहाँको मान रहन्छ ।”
प्रचण्डको गिरिजाप्रसाद स्मरण
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका सुत्रधार तथा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन् ।
प्रचण्डले वर्तमान संविधान, समावेशी लोकतन्त्र तथा संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति प्रक्रियाको परिणाम भएको बताए । तर अहिले यी उपलब्धिहरू नै अप्ठ्यारोमा परेको उनको भनाइ थियो ।
“अहिले देश अप्ठेरोमा छ, गणतन्त्र अप्ठेरोमा छ । हामीले बनाएको संविधान नै अप्ठेरोमा छ,” उनले भने, “सरकारका गतिविधिले परिस्थिति थप जटिलतातर्फ जान्छ कि भन्ने छ ।”
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले आफू शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ता भएको बताए ।
“गिरिजाप्रसाद कोइराला हुनुहुन्न । जीवित हस्ताक्षरकर्ता म छु,” उनले भने, “मैले तपाईं (गगन थापा) को नेतृत्वमा बाँकी कुरा टुंगोमा पुग्नेछ भनेर विश्वास लिएको छु ।”
उनले सबै पुस्तालाई सँगै लिएर अघि बढ्नुपर्ने धारणा राख्दै ‘बुढाहरू सबै खराब’ भन्ने सोच लोकतन्त्रका लागि उपयुक्त नभएको बताए । छुटेका कांग्रेस नेताहरूलाई समेत समेट्ने थापाको प्रयास सफल होस् भन्ने शुभकामना पनि उनले दिए ।
विश्वप्रकाशको जोड : संविधान संशोधन राष्ट्रिय सहमतिको विषय बनोस्
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को गणितमा मात्र सीमित हुन नहुने बताएका छन् ।
“संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन,” शर्माले भने, “समग्रको अपनत्व र भावनाको विषय बन्नुपर्छ ।”
उनले संविधान निर्माणका क्रममा रहेका तर अहिले संसद्मा नरहेका दलहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने बताए । मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनले उठाएका मुद्दा र पछिल्लो पुस्ताले उठाएका आवाजलाई समेत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
रविको कांग्रेसप्रति व्यंग्य
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको राजनीतिक संस्कारप्रति व्यंग्य गरेका छन् ।
“निष्ठालाई पुँजी मानेको भए, भौतिक पुँजीलाई मानक नमानेको म पनि कांग्रेस हुन्थेँ होला,” लामिछानेले भने ।
उनले समानुपातिक प्रणाली, राजनीतिक अवसर र चुनावी गठबन्धनका विषयमा कांग्रेसमाथि प्रश्न उठाउँदै आफू कांग्रेस बन्न नसकेको शैलीमा व्यंग्य गरे । कांग्रेसको सबैभन्दा ठूलो शक्ति र कमजोरी नै उसको इतिहास भएको उनको भनाइ थियो ।
एमालेबाट गगनलाई समर्थनको संकेत
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस सभापति गगन थापा १५औँ महाधिवेशनबाट सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पोखरेलले विशेष महाधिवेशनबाट सभापति बनेका थापा नै १५औँ महाधिवेशनबाट कांग्रेसका लागि स्वीकार्य सभापतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
“१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु,” पोखरेलले भने ।
कांग्रेसको १५औँ महाधिवेशनमा उद्घाटन समारोहदेखि नै नेताहरूका यस्ता अभिव्यक्तिले पार्टीभित्रको नेतृत्व, पुस्तान्तरण, संविधान संशोधन र आगामी राजनीतिक सहकार्यका विषयलाई केन्द्रमा ल्याएको छ ।







