Khabar Out
दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

रसुवा । नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ ।

गत भदौमा गएको रसुवा बाढीले सो खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामुमार्गस्थित सो खोलामा बेलीब्रिज निर्माण भएसँगै सडक यातायात सञ्चालनमा आउने छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो ।

“बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थलमा पुऱ्याइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, प्रवक्ता बस्नेतले भने ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएसँगै काठमाडौँ–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।

सो स्थानमा पुल बगेपछि रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ । बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ ।

यसै सन्दर्भमा संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले आसन्न दसैँअघि बेत्रावतीमा पुल तयार भइदिए आमसर्वसाधारणलाई राष्ट्रिय चाडपर्वका समयमा आवतजावत गर्न सहज हुने र छिमेकी जिल्ला नुवाकोटसहित काठमाडौँसँग सडक यातायात जोडिने बताए । बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसहित यातायात सञ्चालन कार्यमा सरकारका तर्फबाट भएका काम र बाढीपछि नेपाली सेनाको भूमिकाको उनले प्रशंसा गरे 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update