तनहुँ । तनहुँको बन्दीपुर अस्पतालमा नियमित समयभन्दा अतिरिक्त समयमा ओपिडी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको छ । अस्पतालले गत भदौ महिनामा कुल सेवाग्राहीमध्ये ५४ दशमलव ६० प्रतिशतलाई अतिरिक्त समयमा ओपिडी सेवा प्रदान गरेको छ ।
सो महिनामा कुल दुई हजार ३१७ सेवाग्राहीले ओपिडी सेवा लिएका थिए । त्यसमध्ये एक हजार ५२ जनाले नियमित समयमा आएका थिए । एक हजार २६५ जनाले अतिरिक्त समयमा सेवा लिएको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी दिए ।
अस्पतालले कर्मचारी, विद्यार्थी, ज्याला–मजदुरी गर्ने वर्ग, व्यापार–व्यवसायी तथा गृहिणीलाई लक्षित गर्दै विसं २०८२ वैशाख १ गतेदेखि विस्तारित समयमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।
अस्पतालमा नियमित कार्यालय समयबाहेक बिहान र बेलुकी सेवा उपलब्ध हुँदै आएको छ । शनिबार, आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म ओपिडी सेवा सञ्चालन हुने व्यवस्था गरिएको डा गिरीले बताए ।
अस्पतालले विस्तारित ओपिडी सेवा सञ्चालन गर्नुको पछाडि कार्यालय समयमा अस्पताल आउन नसक्ने कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायी तथा गृहिणीलगायतका सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाएको छ ।
भदौ महिनाको तथ्याङ्कले विस्तारित ओपिडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढेको देखाएको छ । विशेष गरी बिहानको समय तथा कार्यालय समयपछि अस्पताल पुग्ने सेवाग्राहीका लागि अतिरिक्त ओपिडी सेवा उपयोगी बनेको डा गिरीको भनाइ छ ।
डा गिरीले भने, “विस्तारित समयसहितको निःशुल्क ओपिडी सेवाले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पहुँचमा ठुलो राहत दिएको छ । विशेष गरी कार्यालय समयभन्दा अघिपछि सेवा उपलब्ध हुँदा उपचारमा ढिलाइ हुने समस्या घटेको र अस्पतालप्रतिको विश्वास बढेको देखिएको छ ।” रासस






