पर्सा । ‘उपकार सेवा नेपाल’ले पर्साका दुई विद्यालयलाई पङ्खा सहयोग गरेको छ । विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन तथा पठनपाठन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले पर्साको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई पाँच/पाँच थान पङ्खा सहयोग गरेको हो ।
वडा नं ६ स्थित ‘दलित उत्थान प्राथमिक विद्यालय’ र वडा नं ८ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पङ्खा हस्तान्तरण गरिएको छ ।
संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारुको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक राम अयोध्या रौनियारलाई पङ्खा हस्तान्तरण गरिएको हो ।
अध्यक्ष सरावगीले गर्मी मौसममा विद्यार्थीलाई सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पङ्खा प्रदान गरिएको बताइन् ।
‘मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो’ भन्ने भावनासहित उपकार सेवा नेपालले शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । रासस






