Khabar Out
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

रूपन्देही । लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन् ।

काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुरलगायतका गन्तव्यमा जाने दर्जनौँ बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बसपार्कमा रोकिएका छन् । सामान्य अवस्थामा काठमाडौँ र पोखरातर्फ नियमित रूपमा बस छुट्ने गरे पनि पछिल्ला दिनमा सडक अवरुद्ध भएपछि सेवा प्रभावित भएको हो ।

सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जीव रोक्काले वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात व्यवसायीको आम्दानी ठप्प भएको बताउनुभयो । “सवारीसाधन सञ्चालन गर्न नसक्दा आम्दानी शून्य भएको छ । कर्मचारीको तलब, बैंकको किस्ता र अन्य खर्च नियमित रूपमा व्यहोर्नुपर्छ”, उनले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिए । उनका अनुसार प्रहरीले सडकको अवस्था तथा यातायात सञ्चालनबारे नियमित रूपमा निगरानी गरिरहेको छ ।

पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा बाढीका कारण आवागमन प्रभावित भएपछि भैरहवाबाट बाहिरिने लामो दूरीका सवारीसाधन रोकिएका हुन् ।

चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी दुवै प्रभावित भएका छन् । सुनौलीनाका हुँदै नेपाल प्रवेश गरेका भारतीय मालवाहक सवारीसाधनसमेत सडक अवरोधका कारण विभिन्न स्थानमा रोकिएका छन् । रासस

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update