काभ्रेपलाञ्चोक । जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा मानव जीवनमा पर्न थालेको असरलाई न्यूनीकरण गर्न जिल्लाका स्थानीय तह पानी–पुनर्भरणका कार्यक्रम अघि बढाउन लागेका छन् ।
रोशी गाउँपालिकाले त्यसका लागि योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिका पनि पानीको स्रोत पहिचान योजनाको तरखरमा छ। रोशीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एकीकृत अनुकूलन समाधान प्याकेज’ को क्षेत्रगत परीक्षण तथा परामर्श थालनी गरेको छ।
हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (ही–कास) परियोजनाअन्तर्गत अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड) को संयुक्त आयोजनामा त्यस्तो कार्यक्रम अघि बढाउन लागिएको हो।
त्यसअन्तर्गत जलवायु परिवर्तनका जोखिमलाई सम्बोधन गर्न खानेपानी तथा मुहान (स्प्रिङ) व्यवस्थापन, जल पुनर्भरण प्रणाली, नवीकरणीय ऊर्जाको पहुँच र कृषि–जैवविविधतालाई एउटै एकीकृत प्रणालीका रुपमा अगाडि बढाउने अवधारणाअनुसार कार्यक्रम तयार पारिएको इसिमोडको कार्यक्रम अधिकृत सदीक्षा गुरागाईंले बताए।
त्यसका लागि पहिलो चरणमा रोशी गाउँपालिकाको–१ स्याउरेटार र २ को चण्डीबेसीमा कार्यक्रम स्थानीय महिला, कृषक तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागि गराई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोण आत्मसात गर्दै सीमान्तकृत समुदायका आवश्यकता र अनुभवलाई ‘अनुकूलन औजार’ मा समेट्ने प्रयास गरिएको जनाइएको छ।
खानेपानीको पहुँच कम हुँदै गएको स्थानमा मुहान संरक्षण गर्दै पुनर्भरणका विधिलाई प्राथमिकता दिइएको छ । उहाँका अनुसार जोखिम नक्साङ्कन, जल बाँडफाँड र प्रणालीको आकार निर्धारणजस्ता व्यावहारिक औजारको परीक्षण गरिरहेका छन् । हाल गाउँपालिकाको दुई वटा वडामा करिब एक हजार ५०० बहुउपयोगी बिरुवासमेत रोपिएका छन्।
यसै क्रममा रोशीमा मुहान/जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसमेत गरिनेछ । यसका लागि हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिको उद्देश्यले एकीकृत जलवायु अङ्गिकरण समाधान कार्यक्रम ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाइ–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनार्थ रोशी गाउँपालिका, इसिमोड र सिप्रेडबीच आशय–पत्रमा हस्ताक्षर भइसकेको छ ।
आशयपत्रमा मुहान/जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसँगै परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय र महिलाहरूको उत्थानको लागिसमेत काम गर्ने उल्लेख गरिएको छ ।
यस्तै स्वच्छ र नवीकरणीय ऊर्जाका प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्दै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनका काम हुनेछन्। आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जन गर्ने परियोजनाको योजना छ । रोशीमा २२ प्रतिशत पानीको मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसैबिच बेथानचोकमा ३६९ पानीका मुहान पहिचान भएका छन्। इसिमोडले गरेको सर्वेक्षणबाट स्थानीयस्तरमा रहेका पानीका स्रोतको अवस्थाबारे महत्त्वपूर्ण तथ्याङ्क प्राप्त भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।
उनका अनुसार पहिचान भएका मुहानको संरक्षण, उचित व्यवस्थापन तथा दिगो उपयोगका लागि अब थप योजनाबद्ध रुपमा प्रक्रिया अघि बढाइनेछ। अधिकारीले भने, “जलवायु परिवर्तनका कारण भविष्यमा बढ्दो पानीको सङ्कट न्यूनीकरण गर्न थप संवेदनशील हुनुपर्ने भएकाले अहिले नै मुहान संरक्षण तथा पानी–पुनर्भरण सबैको साझा प्रयास आवश्यक छ ।”
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणले पानीको मूल र मुहान क्रमशः सुक्दै गएको देखिएको छ। बाढीपहिरो, वनफँडानी, जथाभावीका पूर्वाधार, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको जनाइएको छ । सन् २०२४ जुनमा सम्पन्न सर्वेक्षणमा जिल्लाको सात स्थानीय तहमा पाँच हजार ६८९ कूल स्रोत मापन गरिएको थियो।
उक्त सर्वेक्षणमा पाँच हजार १६८ मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका थिए । पछिल्लो सर्वेक्षणअनुसार २७ प्रतिशत अर्थात् एक हजार ५२१ स्रोत सुक्खा भएको पाइएको छ । रासस







